काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि २ लाख ९६ हजार घर पुनर्निर्माण गरिएको दाबी गरेको छ। भूकम्पमा क्षति भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या करिब साढे तीन लाख पुगेको प्राधिकरणले अनुमान गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेल स्थानीय तहमा पठाइने वरिष्ठ इन्जिनियरसहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनर्निर्माण छिटो सम्पन्न हुने बताएका छन्।
भूकम्पबाट क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ। २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन्।
१ खर्ब ४८ अर्ब अनुदान वितरण
भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५१८ रुपैयाँ वितरण भएको प्राधिकरणले जनाएको छ। यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ आर्थिक वर्ष २०७२/७३ मा वितरण भएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ वितरण भएको थियो। त्यसैगरी, २०७४/७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भएको जनाइएको छ।
चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ।
प्राधिकरणको कार्यकारी समितिले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी १ लाख १८ हजार ७ सय ८० गुनासोको सुनुवाइ गरी नतिजा सार्वजनिक प्राधिकरणले जनाएको छ। भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार यसबाट ४२ हजार ४ सय २२ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा परेका छन् ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार ३५ हजार ५ सय ५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् भने २८ हजार ५ सय ७४ गुनासोकर्ता लाभग्राही हुन अयोग्य देखिएका छन्।
‘बाँकी गुनासोकर्ताको बारेमा थप पुष्टिका लागि स्थानीय तहमा पठाइएको छ। छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत बाँकी गुनासोको प्राधिकरणका प्राविधिकहरूद्वारा अध्ययन भइरहेको छ’, घिमिरले भने।
प्राधिकरणले गत वर्ष स्थलगत रुपमा प्राविधिक इन्जिनियर परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षणमार्फत १ लाख २९ हजार ४ सय ८ गुनासो संकलन गरेको थियो।
त्यसैगरी, प्राधिकरणले प्रभावित १६ जिल्लाका २ सय ६३ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही र १३ सय ९५ गुनासोकर्तालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ। त्यसैगरी, ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्नयोग्य घर भए नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ।
जिल्लागत रुपमा पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः
सिन्धुपाल्चोक – ४९,५४०
दोलखा – ४४,४६१
गोरखा – ३६,४९०
धादिङ – ३५,६६१
नुवाकोट – २८,१५०
रामेछाप – २३,७३४
काभ्रेपलाञ्चोक – २०,७५२
सिन्धुली – ११,११०
ओखलढुङ्गा – १०,७८७
ललितपुर – ३,४५५
भक्तपुर – ५,५३०
काठमाडौं – ७,४३८
रसुवा – ८,५९१
मकवानपुर – ८,३४६
खोटाङ – १,१९१
सोलुखुम्बु – ४३०
स्याङ्जा – ५२०
गुल्मी – ३१५
अर्घाखाँची – १६
लमजुङ – ७