
वीरगञ्जः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन्।उनले संविधान संशाेधनका विषयमा कांग्रेस पहिले देखिनै सकरात्मक रहेकाे बताए ।
काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा शुक्रबार यहाँ आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सबल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए। उनले काङ्ग्रेसले सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिए।
केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेसले गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी भएकाे बताइन्।
विधान संशोधन समिति प्रदेश नं. २ का संयोजक डा. मीनेन्द्र रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, काङ्ग्रेस पर्साका अध्यक्षलगायतले विधान संशोधनका विविध विषयबारे बोलेका थिए। भेलामा प्रदेश नं २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापतिलगायतका नेताको सहभागिता छ।