काठमाडौं : रातको साढे ९ बजेको थियो। कौशलटारबाट हिँड्दै बालकोट जाँदै थिएँ। नयाँ नम्बरबाट फोन आयो।
उठाउनासाथ सुनियो- 'एसिड आक्रमणमा परेदेखि मेरी श्रीमती आइसियूमा छिन्। अवस्था नाजुक छ। उपचार खर्च छैन। मेरो श्रीमतीलाई बचाइदिन सहयोग गर्नुपर्यो।'
स्वर एकदमै अत्तालिएको जस्तो थियो। आवाज कस्को हो भेउ पाएको थिइन। उनले आफ्नो समस्या सुनाइसकेका थिए।
सोँधे, 'को हो तपाईँ?'
'नवलपरासीमा एसिड आक्रमणमा परेकी वसन्ती परियार मेरो श्रीमती हो। म यमनारायण परियार, उसको श्रीमान, ' उनले एकैसासमा भने, ' तपाईँको नम्बर काठमाडौँबाट आउनु भएका सीमा बस्नेत र संगीता मगर बहिनीले दिनुभएको हो।
घर पुगेर कलब्याक गर्ने वाचा गर्दै फोन काटेँ। घरपुग्दासम्म एसिड भिक्टिमका दृश्यहरु आँखाभरी सलबलाउन थाले। एक साताअघि एसिड आक्रमणमा परेर मृत्यु भएकी सम्झना दासको विभत्स अनुहार। उनकी बहिनी सुस्मिताको आँशु। विदेशबाट फर्किएकी उनको आमाको रुवाइले मन चस्स बनायो।
चार वर्षअघि वसन्तपुरमा भएको एसिड आक्रमण परेकी संगिता मगरलाई फोन गरेँ। सीमा बस्नेत र संगीता एसिड आक्रमणमा परेकी वसन्ती परियारलाई भेट्न त्यहाँ पुगेका रहेछन्। संगीताले भनिन्, 'हो, अवस्था अत्यन्तै नाजुक छ। यहाँको सरकारी अस्पतालमा उपचार सम्भव होला जस्तो छैन। तर, काठमाडौँ लान उहाँहरुसँग पैसा रहेनछ। भएको सबै यतै सकिएछ।'
घर आउनासाथ यमनारायणलाई फोन लगाएँ। उनले घटनाको बेलीविस्तार यसरी लगाए-
मेरो घर कावासोती नगरपालिका वडा नम्बर ८ हो। गत सोमवार मेरी श्रीमती तरकारी किन्न बजार गएकी थिइन। आउँदा एसिड आक्रमण भएछ। त्यतिमात्र कहाँ हो र, कपाल समातेर छुरा नै छुरा हानेछ। घाटीमा नि छुरा हानेको छ। गालामा नि छुरा । छातीमा छुरा लागेर फोक्सोसम्म चोट लागेको डाक्टरले सुनाएका छन्। अनुहार डढेर कालो भएको छ।
उनी बजार जाँदा म सागको बीऊ छर्नलाई करेसाबारी खन्दै थिएँ। 'खन्दै गर्नु भोलि साग छर्नुपर्छ' भनेर गएकी थिइन्। तर, यस्तो घटना भयो। मेरो मामाको छोरीले देखेर नछुट्याएको भए मार्ने रै'छ पापीले। मामाको छोरी अत्तालिदैँ आएर सुनाएपछि मैले थाहा पाएँ। दौडेर त्यहाँ पुग्दा उनलाई अत्यन्तै गाह्रो भएको थियो। बेहोस थिइन् उनी। मेरो नि होश उड्यो। बल्ल तल्ल अस्पताल पुर्याइयो। त्यो पापी आक्रमण गरेर भाग्यो। राती १० बजे प्रहरी चौकी गएर आत्मसमर्पण गरेछ।
नजिकैको मध्यबिन्दु अस्पतालमा सामान्य ब्याण्डेज गरेपछि भरतपुर अस्पताल चितवन ल्याइयो। रातको ९ बजेको थियो यहाँ ल्याउँदा। ल्याएदेखि आइसियूमै राखेको छ। आँखा देख्दिनन् अहिले। राम्रोसँग बोल्न पनि सक्दिनन्। उता एसिड हान्नेले मार्ने उद्देश्यले नै हानेको बयान दिएछ प्रहरीलाई। श्रीमान श्रीमतीलाई नै मार्ने योजना बनाएको बयान दिएको छ रे।
त्यो एसिड हान्ने विमल श्रीपाली मेरो छिमेकी हो। वल्लोघर पल्लो घर हो। केही दुस्मनी छैन उसँग। कैले झगडा नि भएको छैन। उस्को श्रीमतीसँग सम्बन्ध विच्छद भएको छ।
१३ वर्षअघि १५ दिनको अन्तरमा बिहे भएको थियो हाम्रो। उस्को घरबार बिग्रियो। मेरो राम्रो भएको रीस पनि हुनुपर्छ। उस्ले एसिड हान्नुको कारण प्रहरीलाई बताएको छैन। किन हान्यो मलाई नि थाहा छैन।
***
म यसअघि मलेसियामा थिए। १ महिना एक हप्ता मात्र भएको थियो नेपाल आएको। श्रीमतीले कर गरेर नै आएको थिएँ म। पाएल्स र प्रेसर भएकाले उता काम गर्न गाह्रो भो। श्रीमतीले आउनुस् उपचार गर्नुस् भनेपछि आएको थिएँ। श्रीमतीले मेरो उपचार गर्न बोलाएकी थिइन्, उनकै उपचार गर्नुपर्यो।
बिहे गरेको २ वर्षपछि मलेसिया गएको थिएँ। तीन वर्ष बसेर आएँ। त्यसपछि फेरि साउदी गएँ। त्यहाँबाट आएर दुबई गएको थिएँ। दुबईमा १ वर्ष मात्र बसेँ। त्यसपछि मलेसिया गएको थिएँ। उपचार गर्न आउँदा यस्तो भो।
मेरो १२ वर्षको छोरा छ। सात वर्षको छोरी। श्रीमतीले भविष्य राम्रो बनाउन नेपालमा दु:ख गरेकी थिइन्। म विदेशी भूमिमा परिवारकै लागि पसिना बगाउँदै थिएँ। कति धेरै सपनाहरु थिए। रहरहरु थिए। बल्लतल्ल केही होला कि भन्ने आशा पलाएको थियो तर, त्यो पापीले सबै तहसनहस पारिदियो।
विदेशी भूमीमा पसिना बगाएको पैसा त उपचारमा सकियो, सकियो। श्रीमती पनि सद्दे रहिन। बाँच्ने हो कि मर्ने हो ठेगान छैन। दुखियालाई जे गरे'नि दु:ख नै हुने रै'छ। के गर्ने, कसो गर्ने सोच्न सकेको छैन। काठमाडौँ उपचार गर्न लगे बाँच्थी कि भन्ने आशा छ। तर, पैसा नभएर अड्किएको छ। तिर्छ भनेर पत्याउनेहरुले दिएको पैसा सकिइसक्यो। एकदम महँगो हुँदो रै'छ औषधि। एक्स रेहरु धेरै गर्नुपर्ने रै'छ। त्यो पनि अस्पतालबाहिर। जताततै पैसा तिर्नुपर्ने। अब त के गर्ने सोच्न सकेको छैन।
अपराधीले एसिड प्रहार गरेर आमसमर्पण गरेको छ। त्यस्लाई जन्मकैद हुनुपर्छ। मेरो संसार तहसनहस पारेको छ। कडाभन्दा कडा कारवाही हुनुपर्छ। म चाहन्छु मेरो श्रीमती बाँचोस् जस्तै अवस्था भए पनि। त्यसैले सरकारले उपचार गर्न सहयोग गरेदेखि आभारी हुनेथिएँ।