PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

भ्लगबाट मुलधारकाे फिल्मसम्म धिरजको यात्रा : अब सिक्नेछन् नेपाली



रीना मोक्तान

भ्लगबाट मुलधारकाे फिल्मसम्म धिरजको यात्रा : अब सिक्नेछन् नेपाली

काठमाडौंको धुँवाधुलोमा बानी पार्दैछन्, धिरज मगर। बेलायतमा हुर्केका उनी पहिलेपहिले बिदा मनाउनमात्र नेपाल आउथे। अहिलेको काठमाडौं बसाई फिल्मले जुराएको हो। 'बसाई लामो भयो। पहिले नेपाल मिस गर्थें। अहिले युके मिस गर्दैछु,' केही मुस्कुराउँदै बोल्छन् , 'काठमाडौंमा अलि बढी धुँवा धुलो भयो।'

ब्रिटिस सैनिक राजकुमार मगरका छोरा उनले डेढ वर्षको उमेरदेखि नै नेपाल बसाइ त्यागे। बाबा आमा, दिदी बहिनीसहित बेलायतमै पढे। अनि भ्लगरको रुपमा स्थापित पनि भए। 

'परिवार र आफन्तमा कोही पनि फिल्म क्षेत्रमा नभएकाले कलाकार बन्छु भन्ने त सोचेकै थिइनँ,' धिरजले सुनाए।

सन् २०१६ को कुरा हो, उतै एउटा सांगीतिक कार्यक्रम सञ्चालन गर्ने क्रममा निर्देशक रेनशा बान्तवाले उनलाई देखिन्। सामान्य चिनजान भएको थियो। धिरजले भने, 'उहाँले फिल्म नै पो अफर गर्नुभयो। स्क्रिप्ट सुन्दा भूमिका निभाउन सक्छु भन्ने कन्फिडेन्स जाग्यो र गरेँ। 

एउटा सांगीतिक कार्यक्रमको सञ्चालकसँग भएको भेटले उनलाई 'हिरो' बनायो। उनले फिल्म इन्टुमिन्टु लण्डनमा मार्फत् डेब्यु गरेका हुन्।

फिल्म क्षेत्र उनको परिवारको रोजाइ थिएन। सम्झिन्छन्, 'फिल्म सोचेजस्तो नभए मेरो करियरमा गर्ने असरको डर बुबालाई थियो। तर, मैले रिस्क लिन चाहेँ। नेपाल आउन चाहेँ।'

उनको जिद्दी स्वभावले काम गर्‍यो। भन्छन्, 'म सानैदेखी जिद्दी स्वभावको छु। जे मन लाग्यो त्यही गर्ने किसिमको। फिल्म गर्न जिद्दी गरेँ। उहाँहरु मेरै लागि चिन्तित हुनुहुन्थ्यो, म बुझ्छु। तर,पछि मेरो खुशी स्वीकारियो।' 

धिरज भ्लगर, हिरोसाथै स्नातक तेश्रो वर्षको विद्यार्थी पनि हुन्। केही समय पढाइलाई थाँती राखेर फिल्म प्रचारका लागि नेपाल आएका हुन् उनी। 

फिल्मले गर्दा दु:ख बुझेकोसुनाउँछन्। 'मैले कहिल्यै मेरो आमा बुबाले पाउनु भएको जस्तो दु:ख पाइनँ। किनकि उहाँहरुले गरेको मिहेनतमा आफू रमाएको थिएँ। अहिले बुझ्दैछु प्रेसर के हो, काम के हो,' उनले भने।

फुटबल खेलाडी बन्ने लक्ष्य लिएका उनले १४/१५ वर्षको उमेरसम्म फूटबललाई नै साथी बनाएका थिए। क्लब लेभलको खेलहरुमा पनि सहभागी भए। 'कम्पिटिसन धेरै थियो। सबैजना निकै मिहिनेत गर्थे। पछि त्यसमा पनि भविष्य देखिनँ। अनि खेल्नै छाडेँ,' खेलाडी बन्ने लक्ष्य पराजित भएको घटना सुनाए।

अब भने फिल्ममा नै केही गर्ने सोच बनाइसकेका छन् उनले।


भल्ग - द द्याट ड्यूड

फिल्म गर्नु अघि उनी भ्लग निर्माणमा निकै सक्रिय थिए। परिवारको रोकटोक हुन्थेन। युट्यूबले स्टार नै बनाएका थियो। उनले भ्लगबाट फ्यानहरु कमाएका छन्। केही पैसा पनि। पहिला त साथीसँग मिलेर भ्लग भिडियो बनाउँथे। तर, २०१३ देखि आफ्नै यूट्युब च्यानल खोले। 'पहिलो भ्लगमै दश हजार भ्यूज भयो। मलाई त अझै गर्न हौसला मिल्यो।'

उनको भ्लग भल्ग - द द्याट ड्यूडलाई अहिले धेरैले हेर्छन्। नेपालमा युट्यूब हेर्ने प्रचलन बढेसँगै धिरजलाई नेपालबाट पनि हेर्न थालियो। नेपाली फ्यान बढ्न थाले। उनको युट्युब सस्क्राइब पनि एक लाख माथि नै छ। यात्रा भ्लगका लागि उनी कोरिया, थाइल्याण्ड पुगेका छन्। 

'भ्लगले क्यामारा परिचित बनायो जसका कारण फिल्ममा धेरै सहयोग मिल्यो,' उनले भने।

***

फिल्मको वर्कसपबाट मात्र अभिनय थालेका उनको फिल्म 'इन्टु मिन्टु लन्डनमा'को छायाँकन पनि लन्डनमा नै भयो। सम्झन्छन्, 'फिल्ममा म आउट अफ द ब्लू'नै आएँ। लन्डनमा फिल्मको सम्पूर्ण छायाँकन भएकाले मैले स्थान छनौटमा सहयोग गरेँ।'

उनी फिल्मबाट धेरै आशावादी छन्। फिल्ममा उनले साम्राज्ञी राज्य लक्ष्मीसँग स्क्रिन सेयर गरेका छन्। उनले साम्रज्ञीको ड्रिम्स हेरेका थिए। 

भन्छन्, 'मेरा विदेशी साथीहरु सोध्थे - तिमीहरुको नेपाली फिल्म कस्तो बन्छ भनेर। अब यो फिल्म देखाउँछु।'

फिल्मसँगै भ्लग भिडियो निर्माणलाई पनि एकसाथ लैजाने उनको तयारी छ। 'भोलिको दिनमा अर्को फिल्म गर्नुपरे पनि म भ्लग बनाउँछु। किनभने मलाई यसैले चिनाएको हो,' उनले भने।

भ्लगका फ्यान फिल्मका दर्शक बनेका छन् यतिखेर।

लन्डनलाई दोश्रो घर मानेका धिरज नेपाली भाषा नै बोल्छन्। तर, कत्ति नेपाली शब्द उच्चारणमा उनलाई कठिन छ। 'हाम्रो फिल्मको गीतमा प्रयोग गरिएको 'स्पन्दन' उच्चारण गर्न गाह्रो भएको सम्झदा हाँस उठ्छ। शब्दको अर्थ पनि पछि नै थाहा भयो,' उनले भने।

अब नेपाली भाषा पनि मजाले सिक्न समय छुट्याउने बताउँछन् उनी।

भन्छन्, 'हुर्किएको समाजको भाषा प्रभाव परेको हो। मेरो परिवारले त मलाई नेपाली संस्कृति भुल्न दिनु भएन। यूके मै बस्ने धेरै छन् नेपाली युवाहरु। म देशको मायाले नेपाल आएँ। मलाई गर्व छ नेपाली हुनुमा।' यूकेमा नेपाली फिल्मको सो हुँदा नछुटाइ हेर्ने उनलाई दयाहाङ राई मनपर्छ। 

म यता रमाइराखेको छु। यूकेमा हुँदा मेकअपको मतलब हुन्नथ्यो। आजकल मेकअप, ड्रेसअपमा ध्यान दिन्छन्। भने, 'अहिले त दूई चोटीजति सोच्नुपर्छ। बाहिर निस्किँदा।'

'यस्तै रहेछ कलाकारको जीवन। यो इन्डस्ट्रीमा मैले पाइला टेकिसकेँ। अब, आइ वान्ट टू क्यारी अन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell