वीरगंज: वीरगंज भन्सार नजिक रहेको कोइला डिपो नोबेल इन्टरप्राइजेजका प्रबन्धक मदन साह तेलीमाथि गोली प्रहार भएको छ। वीरगंज महानगरपालिका–२ भन्सार रोडस्थित कोइला डिपोमा सुतिरहेको अवस्थमा आज बिहान अज्ञात समूहले ४ राउन्ड गोली प्रहार गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जनाए।
‘सुतिरहेको अवस्थामा ढोकाको माथिबाट हात छिराई गोली प्रहार भएको छ, तर गोली कसैलाई लागेको छैन, तेली सकुशल छन्,’उनले भने,‘तेली सुतेको बेडमा ताकेर गोली हानिएको थियो, अरु कोठामा पनि केही कामदार सुतेका थिए, उनीहरु पनि सकुशल छन्।’ बिहार, पूर्वी चम्पारण जिल्ला घोडासहनका तेली विगत दुई वर्षदेखि कोइला डिपोको मेनेजरको रुपमा काम गर्दै आएका थिए।
उनलाई कसले गोली हान्यो र किन हान्यो भन्ने खुलेको छैन। पर्सा प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ। पर्साका प्रहरी उपरिक्षक ढकालकाअनुसार गोली प्रहार गरी फरार रहेको अपराधी समुहको खोजी कार्य भइरहेको छ। सीमा क्षेत्रमा पर्ने वीरगंज भन्सार क्षेत्रमा गोली प्रहार घटनाले भन्सार क्षेत्रलाई नै तनावग्रस्त बनाएको भन्सार कर्मचारीहरु बताएका छन्।
नेपाल–भारतको खुल्ला सीमाको फाइदा उठाउँदै अपराधी समुहले नेपालमा घटना घटाएर भारतमा र भारतमा घटना घटाएर नेपालमा प्रवेश गरी भूमिगत रहने गर्छन्। यो घटनामा पनि अपराधीहरु भारततर्फ नै भागेको प्रहरीको अशंका छ।