PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

चीनबाट फर्केपछि मुख्यमन्त्रीको घोषणा : चीनले ऋण दिए प्रदेशको आफ्नै 'कर्णाली एयरलाइन्स'



पी बी खड्का

चीनबाट फर्केपछि मुख्यमन्त्रीको घोषणा : चीनले ऋण दिए प्रदेशको आफ्नै 'कर्णाली एयरलाइन्स'

सुर्खेतः साता लामो चीन भ्रमणबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशमा फर्किएका छन्। उनी बुधवार स्वदेश फर्किएका थिए। उनी शनिवारमात्र प्रदेश फर्किए।

शनिवार सुर्खेत आइपुगेका मुख्मन्त्री शाहीले पत्रकार सम्मेलन गरी चिनियाँ लगानीकर्तालाई कर्णालीको पूर्वाधार विकासमा लगानी गर्न आह्वान गरेको जानकारी दिए। उनले कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय लगानिकर्तासँग छलफल गरि फर्किएको बताए।

उनले हिल्सादेखि जमुनाह नाकासम्मको द्रुतमार्ग सञ्चालनका लागि चीन सरकारसँग समझदारी (एमओयु)मा सहमति भएको जानकारी दिए। चीन भ्रमणका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारको बुहुवर्षीय उक्त आयोजना कार्यान्वयनका लागि सम्झौता भएको बताए।

‘हिल्सादेखि जमुनाहा नाकासम्मको द्रुतमार्ग सञ्चालनका लागि प्रारम्भिक रुपमा संघीय सरकार र चाइना रेलवे कम्पनीसँग एमओयुमा हस्ताक्षर भएको छ,’ उनले भने, ‘चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाउने छ। अध्ययनले सञ्चालनका लागि उपयुक्त देखाएमा प्रक्रिया अगाडि बढ्छ।’ उनले द्रुतमार्ग निर्माणमा सहयोग गर्न चीन सरकार सरकारात्मक भएको दाबी गरे।

मुख्मन्त्री शाहीले चिनियाँ लगानीकर्तासँग कर्णाली प्रदेशको कृषिक्षेत्र र जडीबुटीलगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेको जानकारी दिँदै लगानीकर्ताहरु सकरात्मक रहेको जानकारी दिए।

प्रदेशको आफ्नै एयरलाइन्स ‘कर्णाली एयरलाइन्स’

यसैबीच कर्णाली प्रदेश सरकारले कर्णाली एयरलाइन्स सञ्चालनमा ल्याउने भएको छ। मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आफ्नै एयरलाइन्स सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए।

‘प्रदेश सरकारले अब आफ्नै एयरलाइन्स सञ्चालनमा ल्याउने की भनेर छलफल भएको छ,’ उनले भने, ‘चिनियाँ सरकारसँग ऋणका लागि कुरा पनि भएको छ, सम्भवत चीनले ऋण दियो भने हामी सञ्चालनमा ल्याउँछौ।’

प्रदेश सरकारले दुई वटा विमान खरिद गरी प्रदेशको भोगोलिक विकटता भएका जिल्लामा सञ्चालन गर्ने योजना रहेको उनले बताए। ‘हामीले ऋण पायौँ भने २ वटा विमान आन्तरिक रुपमा सञ्चालनमा ल्याउँछौँ,’ उनले भने, ‘प्रदेशका विकट हुम्ला, मुगु, डोल्पा लगाएत स्थानमा पुग्न सहज हुने थियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell