PahiloPost

Nov 17, 2024 | २ मंसिर २०८१

भक्तपुरमा शनिबार मात्र सकियो इन्द्रजात्रा, पुलुकिसिलाई सेकाइयो आगो, खुवाइयो धान–पानी 



सहयोग रञ्जित

भक्तपुरमा शनिबार मात्र सकियो इन्द्रजात्रा, पुलुकिसिलाई सेकाइयो आगो, खुवाइयो धान–पानी 

भक्तपुर: नालाको चित्तपोलबाट ल्याइ द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको य:सिं शुक्रबार राति ढालिएसँगै काठमाडौँमा येँया: अर्थात् इन्द्रजात्रा सम्पन्न भएको थियो। तर भक्तपुरमा भने शनिबार मात्रै इन्द्रजात्रा सम्पन्न भएको छ।

द्वादशीका दिन हनुमानढोकामा य:सिं ठ्डयाएसँगै काठमाडौँमा इन्द्रजात्रा सुरु भएजस्तै भक्तपुरमा भने सोही दिन इन्द्रका छोरा जयन्तको प्रतीकको रूपमा २१ स्थान (सूर्यमढी, वंशगोपाल, तेखापुखु, इताछें लगायतका क्षेत्र) मा यम्बा:द्य: ठड्याएसँगै इन्द्रजात्रा सुरु हुने परम्परा रहेको छ।

काठमाडौँमा इन्द्रलाई यम्बा:द्य: मानी मरु, किलागल लगायतका स्थानमा इन्द्रजात्राका क्रममा निकालिने गरिन्छ। तर भक्तपुरमा भने इन्द्रका छोरा जयन्तलाई यम्बा:द्य: मान्ने चलन रहेको छ।

भक्तपुरको मल्लकालीन कुल ३२ टोलमै यम्बा:द्य: निकालिने गरिएकोमा अहिले २१ स्थानमा मात्र यमद्य: निकालिने गरिएको स्थानीय कृष्ण प्रजापतीले बताए।

 

काठमाडौँ र भक्तपुरका फरक कथन

काठमाडौँमा इन्द्र पारिजातको फूल टिप्न आउँदा समाइएसँगै उसलाई बन्धनमा पारेर नगर परिक्रमा गराइएको प्रतीक स्वरूप इन्द्रजात्रा मनाइन्छ। तर भक्तपुरको कथन अनुसार इन्द्रका छोरा जयन्त पारिजातको फूल टिप्न आउँदा उसलाई समाइ राक्षसराज मूपात्र कहाँ लगिन्छ। मूपात्रले जयन्तको हात काटी नगरका विभिन्न स्थानमा पाटा कसेर राखिन्छ। त्यसैको प्रतीक स्वरूप भक्तपुरका विभिन्न स्थानमा यम्बा:द्य: ठ्डयाउने गरिएको प्रजापतीले बताए।

काठमाडौँमा इन्द्रको खोजीमा ऐरावत हात्ती (पुलुकिसि) आएको भनिए जस्तै भक्तपुरमा भने पुलुकिसिले जयन्तलाई बचाउन आएको भन्ने मान्यता रहेको छ। पुलुकिसिले जयन्तलाई छुटयाउन सफल भएको दिनको सम्झनामा प्रत्येक वर्ष पुलुकिसि जात्रा मनाउने परम्परा रहेको छ। यसलाई राक्षसमाथि देवताको जितको खुसीयालीका रूपमा पनि लिने गरिन्छ। काठमाडौँमा आठ दिन पुलुकिसि नाच गरिए पनि भक्तपुरमा भने इन्द्रजात्राको अन्तिम दिन मात्र पुलुकिसि नाच देखाइन्छ।

पुलुकिसि नाच सम्पन्न भएसँगै भक्तपुरमा इन्द्रजात्राको विधिवत समापन हुने गर्छ।

 

पुलुकिसि, मूपात्र र यम्बा:द्य: को सम्बन्ध

यसपटक काठमाडौँमा इन्द्रजात्रा सकिएको भोलिपल्ट अर्थात् शनिबार भक्तपुरमा पुलुकिसि नाच देखाइएको थियो। पाँच तल्ले मन्दिर नजिकै रहको लाकौलाछें (मासु राखेर भोज गर्ने घर) टोलबाट पुलुकिसिलाई निकालेर भक्तपुरको तल्लो, मध्य र माथिल्लो क्षेत्रमा परिक्रमा गर्ने गराइएको थियो।

त्यस क्रममा पुलुकिसिलाई तल्लो टोलस्थित वंशगोपालमा धान खुवाउने, भक्तपुर दरबार क्षेत्रमा आगो तपाउने र सूर्यमढीस्थित तला तुन्छी इनारबाट पानी खुवाइएको थियो। जयन्तको खोजीमा आएको हात्तीले बाली नष्ट गरेको हुँदा त्यसलाई रोक्न यस्तो उपाय अपनाइएको जनविश्वास रहेको प्रजापती बताउँछन्।

इन्द्रजात्रा सुरु भएको छैटौँ दिन भक्तपुरमा राक्षस राजाको प्रतीक स्वरूप तीन स्थान (छुमा गणेश¸गोलमढी र दरबार स्कवायर) बाट छुट्टाछुट्टै दिन मूपात्र निकालिन्छ। मूपात्र निकाल्नु अघि सकुलान टोलका मानन्धरहरुले दत्तात्रयबाट या:मता निकालन्छ। ऐरावत हात्ती पठाउनु अघि इन्द्रले सलाँ गणेश, छुमा गणेश , मसना भैरवलाई जयन्तलाई छुट्याउन पठाएकोमा उनीहरु असफल भएको कथन रहेको छ। तचपाल चोकको सलाँ गणेश, चोछें टोलको छूमा गणेशबाट मूपात्र निकालिने दिन सलाँ गणेश र छुमा गणेशको जात्रा पनि निकालिन्छ।

राक्षसी राजा मूपात्रको भेषमा रहेकालाई नगरका विभिन्न स्थानमा ठ्डयाइएको यम्बा:द्य: कहाँ लगिन्छ। त्यसपछि मूपात्रले जयन्तको हात काटेको प्रतीकका रूपमा मूपात्रले यम्बा:द्य:लाई तरबारले हान्ने प्रजापतीले बताए।

या:मता र मूपात्र निकाले पछि इन्द्रजात्राको अन्तिम दिनमा मात्र भक्तपुरमा पुलुकिसि निकालिन्छ। पुलुकिसि र मूपात्रको भेट हुन नहुने जनविश्वास रहेको छ।

शनिबार पुलुकिसि जात्रा सकिए पनि भक्तपुरका विभिन्न स्थानमा ठ्डयाइएको यम्बा:द्य:लाई भने आइतबारमात्र ढालिन्छ। प्रजापती भन्छन् 'जात्रा राति अबेरसम्म चल्छ। काठमाडौँमा जस्तै एउटा य:सिं ढाल्ने होइन। २१ वटा ढाल्नुपर्छ। त्यसैले जात्राको भोलिपल्ट मात्र यम्बा:द्य: ढालिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell