PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बूढानीलकण्ठको ४० आना जग्गा ठगी प्रकरणः चाबहिल मालपोत कार्यालयका प्रमुख नै प्रहरी फन्दामा



पहिलोपोस्ट

बूढानीलकण्ठको ४० आना जग्गा ठगी प्रकरणः चाबहिल मालपोत कार्यालयका प्रमुख नै प्रहरी फन्दामा

काठमाडौँः मिलेमतोमा जग्गाको कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा प्रहरीले मालपोत कार्यालय चाबहिलका प्रमुखलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कार्यालय प्रमुख उपसचिव कमलप्रसाद तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो।

उपसचिव तिमिल्सिनासहित अन्य चार जना कर्मचारी समेत पक्राउ परेको वृत्तका प्रमुख डिएसपी सुनील मल्लले बताए।

यसअघि पक्राउ परेका मलोपत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासु रघुनाथ तिमिल्सिना र नासु रञ्जनकुमार खरेल र नासु जमुना कुमारी श्रेष्‍ठको बयानका आधारमा तिमिल्सिनालाई नियन्त्रणमा लिइएको हो।

डिएसपी मल्लले भने, 'अनुसन्धान गर्दै जाँदा उहाँको पनि संलग्नता देखिएकाले पक्राउ गरिएको हो। अनुसन्धान गरिरहेका छौँ।'

कर्मचारीको मिलेमतोमा ६ करोड रुपैयाँ बराबरको जग्गा कीर्ते गरी बिक्री भएको खुलेको छ। अर्काको नामको जग्गा कीर्ते कागजपत्र बनाएर बिक्री गरेको आरोप प्रहरीको छ।

चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको ४० आना जग्गा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा बिक्री भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। भदौ १८ गते जग्गा ६ करोड रुपैयाँमा बिक्री भएको थियो। प्रहरीले जग्गा खरिद गर्नेलाई पनि नियन्त्रणमा लिइसकेको छ।

बूढानीलकण्ठ ७ को ‘ग’को कित्ता नम्बर ३२३, ३२५ र ३२९ का जग्गाको कागजपत्र कीर्ते गरी श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell