वीरगंजः पर्साको सुदूरपश्चिम गाउँपालिका ठोरीमा जंगली हात्तीको आक्रमणमा परी एक महिनामा तीन जनाको ज्यान गएको छ। पर्सा राष्ट्रिय निकुञ्जले हात्ती धपाउन तारजालीको कार्यक्रम लागू गरे पनि ठोरीमा हात्ती आक्रमण रोकिएको छैन।
शनिबार ठोरी गाउँपालिका–३ सिकारीवासमा पहिचान खुल्न नसकेकी ६० वर्षकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। गाउँभर खाना मागेर दैनिक गुजारा गर्दै आएकी महिलाका मृत्युबाट सिकारीवास र ठोरी पुनः त्रसित बनेको छ। सिकारीवासकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नजिकै बसेकी वृद्धालाई हात्तीले लखेटेर आक्रमण गरी ज्यान लिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रमेश विष्टले बताए।
भदौ ६ गते ओडारमा परिचय खुल्न नसकेका एक वृद्धको हात्तीले ज्यान लिएको थियो। तीन सातापछि वीरगन्ज–ठोरी सडकखण्डको ब्रम्हनगरमा २७ वर्षीया रेजिना स्याङ्बोको हात्तीले ज्यान लिएको थियो।
ठोरीमा हरेक साँझ हात्तीको बथान स्थानीयको खेतबारीमा प्रवेश गरी बालीनाली नष्ट गर्नुका साथै घर भत्काउने तथा मानिस मार्ने क्रम बढेको छ। ठोरीवासीले हात्ती आक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।