काठमाडौँः कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या,बलात्कारलगायतका गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागिपर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या,बलात्कारजस्ता अमानवीय एवं पाशविक घटना नियन्त्रणका लागि सरकार लागिपरेको स्पष्ट पारे। आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ काे उद्घाटन गर्दै उनले बालिकामाथि भइरहेको जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकारले सक्दो पहल गरिरहेको दाबी गरे।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले समाजमा रहेका असमानता अन्त्य गरी बालिका तथा किशोरीमाथि लगानी गरेर उनीहरुमाथि भइरहेको बलात्कार, हत्यालगायतका घटना नियन्त्रण हुने विश्वास पनि व्यक्त गरे।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने हत्या, बलात्कारलगायतका घटना न्यूनिकरणका लागि ठोस धारणा तय गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरिन्। उनले परम्परागत सामन्ती सोचका कारण महिला तथा बालिका बलात्कार, हत्या लगायतका जघन्य अपराधको शिकार हुनु परेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न समाजका सबै पक्ष उत्तिकै सक्रिय हुनुपर्ने आवश्यक्ता औंल्याइन्।
अभिनेत्री मनिषा कोइरालाले पनि शिक्षाको अभाव र बालविबाहका कारण नेपालमा बालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना घटिरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न उनीहरुको शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्ने आवश्यक्ता औंल्याइन्।
‘सक्षम बालिकाः समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले बढ्दो बालिका हत्या, बलात्कार लगायतका घटना न्यूनिकरणका लागि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
