काठमाडौँः काठमाडौं प्रहरी परिसरले अाउँदै गरेकाे चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी दशैँ तिहार सुरक्षा योजना सार्वजानिक गरेको हो।
दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएकाे परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए।
उनका अनुसार काठमाडौंमा मात्र अहिले ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ। प्रहरीलाई प्रभावकारी रूपमा परिचाल गरी दुरुस्त कारबाही र शिघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाइएको एसएसपी लामाले बताए।
उनका अनुसार थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच लागि खटाइने भएकाे छ। चाडपर्वको समयमा मानिसहरूको बढी भीडभाड हुने स्थानहरू घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, वित्तीय सस्था, बैंक तथा सुन पसलमा उच्च निगरानी राखिने उनले बताए।
घटना भएको स्थानमा तत्कालै पुग्ने गरी २५ वटा टोली पनि तयारी अवस्थामा राखेको उनले जानकारी दिए। चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ।
