काठमाडौं : पार्टी एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रको विवाद संसद हुँदै सामाजिक सञ्जालसम्म पुगेको छ।
बलात्कारका घटना बढ्दै गएको, सरकारको कामकारबाही प्रभावकारी नभएको जस्ता विषयलाई लिएर सत्तारुढ दलकै सांसदहरुले ओली सरकारमाथि सुरु गरेको आक्रमण चर्को हुँदै गएको छ।
माधव नेपाल समूहका भीम रावलसहितका शीर्ष नेताहरुले नै बिमस्टेक संयुक्त सैन्य अभ्यासबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै निर्णय फिर्ता लिन बाध्य बनाएका थिए।
तर पछिल्लो विहीबार पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले संसदको ‘रोस्टम’बाटै ओली सरकारको चर्को अलोचना गरेपछि विवादले सामाजिक सञ्जालमा प्रवेश पाएको हो।
माधव नेपालको क्रियाकलापप्रति लक्षित गरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षधरले सामाजिक सञ्जालबाटै आक्रमण गरे। आफ्नै सरकारलाई ढालेर प्रधानमन्त्री बन्न खोजेको आरोपसहित आफैँ पतन हुन लागेको चेतावनीसमेत दिइयो।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटरमा लेखे ‘मानिसको पतन त्यस समय सुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरू गरिन्छ।’
यसको जवाफ माधव नेपालको क्याम्पबाट योगेश भट्टराईले दिए। भट्टराईले लेखेका छन्,‘शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !’
नारायणकाजीले छोडे माधव नेपालको साथ?
ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीभित्र आफ्नै गुट सञ्चालन गर्दै आएका छन्। उनले माओवादीमा छँदा पनि आफ्नो गुट बनाएका थिए।
नेकपाको एकीकरण पक्रिया पछि पार्टीभित्र अलगथलग देखिएका नारायणकाजीलाई माधव नेपाल समूहले आफ्नो गुटमा ल्याउने प्रयास गरेका थिए।
माधव नेपाल समूहले यसअघि गरेका गोप्य भेलाहरुमा नारायणकाजीलाई समेत डाकिएको थियो। तर नारायणकाजी ती भेलाहरुमा सहभागी थिएनन् । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट रहेका नारायणकाजी माधव नेपाल गुटलाई सहयोग गर्ने आश्वासन भने दिएका थिए। शुक्रबार भएको माधव नेपाल पक्षको चियापानमा भने उनी सहभागी भएका थिए।
बिमस्टेक राष्ट्रहरुबीच हुने संयुक्त सैन्य अभ्यासको विरोध गरेर नारायणकाजी माधव नेपाल समूहतिर ढल्केका पनि थिए। तर पछिल्लो विवादमा भने उनले माधव नेपालको पक्षमा सामाजिक सञ्जालमा लेखेका छैनन्।
उनले लेखेका छन्,‘ वर्तमान सरकारप्रतिको आलोचना-टिप्पणी सरकारलाई थप प्रभावकारी एवं सफल बनाउने उद्देश्यले हुनुपर्छ। यतिबेला यो सरकारको विकल्पको सोच देश,जनता,पार्टी र आन्दोलनको पक्षमा हुँदैन। अहिले त्यस्तो कल्पना गर्नु पनि गलत हुन्छ। कसैले त्यस्तो सोचेका छन् जस्तो पनि लाग्दैन।’