
काठमाडौँः निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका प्रमुख योजनाकार भनिएका गुन्डा नाइके समीरमान सिंह बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको छ।
गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई सोमबार बिहान ९ बजेको विमानमार्फत मुस्ताङ लगिएको जेलर जीवन दुलालले जानकारी दिए।
चालचलन शंकास्पद देखिएकाले बस्नेतलाई कारागार साटिएको हो।
जिल्ला अदालत काठमाडौँले बस्नेतलाई हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बस्नेतलाई अध्यक्ष गौचनको हत्याको अभियोगमा पक्राउ गरेको थियो। गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिकै गोली हानी हत्या भएको थियो।
बस्नेत स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका थिए।