PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

डिएमजेडमा बारुदी सुरुङ हटाउँदै दुई कोरिया, सीमा क्षेत्रमा छन् २० लाख बारुदी सुरुङ



पहिलोपोस्ट

डिएमजेडमा बारुदी सुरुङ हटाउँदै दुई कोरिया, सीमा क्षेत्रमा छन् २० लाख बारुदी सुरुङ

काठमाडौं : दुई कोरियाले सोमबार देखि सीमा क्षेत्रमा रहेका बारुदी सुरुङ हटाउन थालेका छन्। दुई देशबीच भएको सहमति अनुसार दुई देशको सीमा क्षेत्र तथा दुई देशलाई विभाजन गर्ने डिमलिटराइज्ड जोन (डीएमजेड)मा रहेका वारुदी सुरुङहरू हटाउन थालेका हुन्। 

दुई देशबीच पछिल्लो समय भएको सहमति अनुसार बारुदी सुरुङ हटाइन थालिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयलाई उदृत गर्दै त्यहाँको समाचार संस्था योनहापले जनाएको छ। 

गत महिना प्योङयाङमा भएको अन्तर कोरियाली शिखर सम्मेलनमा भएको सहमति अनुसार बारुदी सुरुङ हटाउन थालिएको हो। दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन र उत्तर कोरियाली नेता किम जोङ उनको उपस्थितिमा प्योङयाङमा दुई देशका रक्षा अधिकारीहरूले यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। 

गत अप्रिलमा डिएमजेडको पानमुनजोममा भएको शिखर सम्मेलनका क्रममा दुई देशबीच एक अर्कालाई तनावमा पार्ने तथा उक्साउने गतिविधि रोक्ने सहमति भएको थियो। 

सैन्य अधिकारीहरूले डिएमजेडको संयुक्त सुरक्षा क्षेत्र (जेएसए)बाट बारुदी सुरुङ हटाउन थालिएको हो। जुन च्येरोन, गांगोन प्रन्तमा रहेको छ। यहाँ देखि कोरियाली युद्धका अवशेषहरू अर्को वर्षसम्म हटाइसक्ने सहमति भएको छ। 

'बारुदी सुरुङ हटाउने कार्य दुवै देशका सैन्य अधिकारीहरूले सैन्य सम्झौता कार्यान्यवनका लागि व्यवस्थित र सामान्य रूपमा अगाडि बढाउने सुरुवाती बिन्दु हो,' दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ। 

यो कार्य २० दिनसम्म जारी रहने जनाइएको छ। यसका लागि दुवै कोरियाका अधिकारी र राष्ट्र संघको कमाण्डसमेत खटिएको छ। त्यस्तै जेएसएमा ३५/३५ वटा संयुक्त सैन्य टोली राख्ने सहमति भएको छ। सन् १९७६ सम्म यहाँ तैनाथ गरिएका सैनिकहरू मिलिटरी डिमार्केशन लाइन (एमडीएल)को वारपार विना रोकटोक आवतजावत गर्न पाउने छन्। १९७६ मा भएको एक्स मर्डर इन्सिडेन्ट (बन्चरो हानी हत्या गरिएको घटना जहाँ उत्तर कोरियाली सैनिकले दुई अमेरिकी सैनिकलाई हत्या गरेका थिए) पछि यस क्षेत्रमा हतियार सहित सैनिक प्रवेश गर्न रोक लगाइएको छ। 

यस क्षेत्रमा सन् २०१९ अक्टोबर ३० सम्म कोल्ड वारको अवशेष हटाइने बताइएको छ। यस क्षेत्रमा अर्को वर्ष अप्रिल १ देखि संयुक्त अभियान चलाइँदै छ। 

पानमुनजोमसँगै कोरियाली युद्ध भएको अर्को गाउँमा उत्तर कोरियाली सैनिकहरूले बिहानै देखि वारुदी सुरुङ खोज्ने काम गरिरहेका छन्। 
टोलीले जेएसएको दक्षिणी क्षेत्र र एरो हेड हिलमा बारुदी सुरु हटाउने छ। एरो हिलमा दक्षिण कोरिया युएन फोर्सका ३०० सैनिकको अवशेष रहेको मानिन्छ। साथै यहाँ चिनियाँ र उत्तर कोरियाली सैनिकका अवशेषहरूसमेत रहेको बताइन्छ। 

यसैबीच दुवै देशबीच आगामी डिसेम्बर सम्म ११ फ्रन्टलाइन गार्ड पोस्ट हटाइसक्ने र सो क्षेत्रलाई बफरजोनको रूपमा घोषणा गर्ने बताइएको। त्यस्तै सीमा क्षेत्रमा उडान निषेधसमेत गरिने एपीले जनाएको छ। २८४ किलोमिटर लामो डिएमजेड लाइनमा करिब २० लाख बारुदी सुरु रहेको अनुमान छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell