PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

राष्ट्रिय जनता दल र पिछडावर्ग महासंघ नेकपामा विलय



पहिलोपोस्ट

राष्ट्रिय जनता दल र पिछडावर्ग महासंघ नेकपामा विलय

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा राष्ट्रिय जनता दल नेपाल र पिछडावर्ग (ओबीसी) महासंघ विलय भएका छन्। सोमवार  ने क पाको केन्द्रीय कार्यालयमा पार्टीका महासचिव विष्णु पौडेलले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन्। 

पार्टीका अध्यक्ष भरत प्रसाद महतोले सम्पूर्ण पार्टीका सबै जिल्ला कमिटीका अध्यक्षसहित ने क पामा विलय गराएका हुन्। यो पार्टीको तराई मधेसका २० जिल्लामा जिल्ला कमिटीहरू रहेका छन्। 


त्यस्तै पिछडावर्ग महासंघका नागेश्वर शाहसहितका सम्पूर्ण पदाधिकारीहरू ने क पामा प्रवेश गरेका हुन्। 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै ने क पाका महासचिव पौडेलले ने क पाले पिछडावर्गहरुको हितका क्षेत्रमा काम गर्ने भन्दै नवप्रवेशीलाई भोलिका दिनमा ने क पामा प्रवेश गरेर गल्ती गरिएछ भन्ने पर्न नदिने बताए। 

पार्टीमा विलयसँगै ने क पाले जनता दलका सम्पूर्ण पदाधिकारीलाई योग्यता अनुसारको जिम्मेवारी दिने प्रतिबद्धता जनाएको जनता दलका प्रवक्ता मनाइ महतोले जानकारी दिए। 

मधेसका समस्या समाधान गर्नका लागि खोलिएका मधेस केन्द्रित दलहरू सत्ताको दौडमा लागिरहेको भन्दै उनले ने क पाले पिछाडावर्ग, मधेसका उत्पीडित समुदायको हितका क्षेत्रमा काम गर्ने अपेक्षासहित पार्टी प्रवेश गरेको जानकारी दिए। 

पार्टी प्रवेश गराउनका लागि पिछडावर्ग महासंघका संस्थापक अध्यक्ष तथा पूर्व राज्यमन्त्री मेघराज निषेधले पहल गरेका थिए।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell