PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

‘नैतिक शिक्षाको अभावमा हराएको मानवता’



रासस

‘नैतिक शिक्षाको अभावमा हराएको मानवता’

नारायण अधिकारी

चितवनः युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ। मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन्।

न्यून वर्गीयदेखि सम्पन्न परिवारसम्मका ज्येष्ठ नागरिक अभिभावक विहीन बनेका छन्। गलेश्वर आश्रम देवघाटका पिठाधीश आत्मानन्द गिरी ज्येष्ठ नागरिक अभिभावक विहीन बनेको बताउँछन्। दुई सयभन्दा बढी वृद्धवृद्धा आश्रममा राखेर पालनपोषण गर्दै आएका गिरीको भनाइमा युवा पुस्तामा मानवीय मूल्य मान्यता र नैतिक शिक्षामा कमी आएको छ। स्वदेश र विदेशमा रहेका छोराछोरीका बाबुअमाकाको पीडा आफूले देखेको उनले बताए।

आफूले जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएका छोराछोरी बूढेसकालका अभिभावक भएको भए पनि उनीहरुले अभिभावकत्व दिन नसकेको गिरीले बताए। उनले भने, “आफैँले जन्माएका सन्तानले अभिभावकत्व जिम्मेवारी पूरा गर्न सकेका छैनन्। अभिभावकको अभावमा वृद्धवृद्धा पीडित छन् ।” बूढेसकालमा मानसम्मान र सेवा परिवारबाट पाउनुपर्नेमा तिरस्कृत भएको अनुभव वृद्धवृद्धाले गर्ने गरेको उनले बताए।

सम्पन्न परिवारका छोराछोरी विदेश रहँदा यहाँ बसेका बाबुआमा घरको चौकीदारको रुपमा तड्पिरहेको उनको भनाइ छ। सम्पन्न मुलुकमा गएका सन्तानले त्यही बाबुआमा बोलाउने भए पनि बाबुआमा जान मान्दैनन्। त्यहाँ बिहानदेखि रातिसम्म छोराबुहारी काममा व्यस्त हुँदा बाबुआमा एक्लो बस्नुपर्नेहुन्छ। नेपालमा साथीभाइ र छरछिमेकमा जान पाउने भएकाले वृद्धवृद्धाको रोजाइ यही हुनेगर्दछ। सम्पत्ति बेच्न पनि नपाउने, एक्लै बस्नुपर्ने हुँदा त्यस्ता वृद्धवृद्धाको पीडा कहालिलाग्दो रहेको पाइन्छ। गिरीको सुझाव छ “पाठ्यक्रममा नैतिक शिक्षा समावेश नगरेसम्म सुधार हुनसक्दैन।”

देशका ११ ठाउँमा मानवसेवा आश्रम सञ्चालन गर्दै आउनु भएका रामजी अधिकारी पछिल्लो समय मानवतामा कमी नभएर ह्रास आएको टिप्पणी गर्नुहुन्छ । बाबुआमाको मुख हेर्ने दिनमा तस्वीर खिचेर फेसबुकमा राख्नका लागि गरिएका सम्मानबाहेक अन्तरआत्माबाट उहाँहरुप्रति गरिने सम्मानमा निकै कमी रहेको उनले बताए। पाँच सय ५० भन्दा बढी असहाय वृद्धवृद्धाको पालनपोषण गर्दै आएका अधिकारी आमाबुबामाथिको सम्मान, इज्जत दिने संस्कारमा कमी आएको बताउँछन्। उनी स्कुलको पाठ्यक्रममा नैतिक शिक्षा नहुँदा यो समस्या उत्पन्न भएको बताउँछन्।

देशका धेरै वृद्धाश्रम भरिभराउ रहेको भन्दै उनले बाल्यकालदेखि नै उनीहरुलाई मानवता र नैतिक शिक्षा दिन सकेमा बाबुआमाप्रतिको सम्मान जगाउन सकिने बताए। स्कुले विद्यार्थीलाई वृद्धाश्रम, मानव आश्रम, बाल आश्रम लगेर त्यहाँको सञ्जीव चित्रण गराउन सकेमा उनीहरुमा मानवता पैदा हुने अधिकारीले बताए। तत्कालीन जिल्ला विकास समितिका सभापति विष्णु घिमिरे मानवता हराउँदा वृद्धावृद्धाको अवस्था दयनीय बन्दै गएको बताउँछन्।

पैसा दिएर सम्मान गर्न खोज्ने चलन बढेको भन्दै उहाँले सन्तान नजिक भए मात्रै वृद्धवृद्धा सन्तुष्ट हुने बताए। उहनले भने, “सन्तान साथमा हुँदा मात्रै वृद्धवृद्धाले आनन्दको अनुभव गर्छन्।” धनी र गरीब दुवै वर्गका वृद्धवृद्धा समस्यामा रहेको उनले बताए। नहुने अभावमा पीडित रहेका र हुनेले उपभोग गर्न नसकेर पीडामा बाच्नु परेको उनको तर्क छ।

 पैसा भएर पनि किनेर ल्याउनसक्ने अवस्था नहुँदा सम्पन्न परिवारका वृद्धवृद्धामा सुख, सन्तोष नभएको र एक्लोपनको पीडामा बाँच्नु परेको घिमिरेको भनाइ छ ।

विकसित देशमा युवाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको भए पनि नेपालमा त्यसो हुन नसकेको उहाँले बताए। पश्चिमी मुलुकबाट धेरै कुरा नेपालीले सिकेको भन्दै उनले ज्येष्ठ नागरिकलाई गर्नुपर्ने सम्मानका बारेमा भने बुझ्न नसकेको बताउनुभयो । उनले भने, “सम्मान गर्ने संस्कारको दरिद्रता छ।”

प्रदेश सांसद समेत रहनुभएकी समाजसेवी गीता वाग्ले मानवीय भावनाको विकास सानै उमेरदेखि गराउनुपर्ने बताउँछन्। उनले भने, “धेरै ज्येष्ठ नागरिकको अवस्था दयनीय छ ।” देवघाटमा रहेको रोटरी करुणालय सहितका वृद्धश्रममा सहयोग गर्दै आउनुभएकी वाग्ले सन्तानलाई आफ्ना बाबुआमाको सम्मान गर्न नैतिक शिक्षा दिइनुपर्नेमा जोड दिनुहुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell