
काठमाडौः बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित भएसँगै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १ सय ३१ रन मात्र बनाएको थियो । १ सय ३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा गर्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन जोडे पनि टोलीको उच्च स्कोर बन्न सकेन । नेपालका लागि राशिद खानले २९ तथा कप्तान आरिफ शेखले २० रन जोडे। ऋत गौतमले १० रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्।
नेपाललाई १३१ रनमै समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले चार विकेट लिए । कैस अहमद र अब्दुल रहमानले समान दुई-दुई विकेट लिएका थिए। अङ्क तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन्।
भारत र अफगानिस्तान दुई–दुई खेल जित्दै समान चार-चार अङ्क जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि असोज १३ गते भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको हो। नेपालले मङ्गलबार युएईसँग खेल्नेछ।