काठमाडौँ : सत्तारुढ दल ने क पाका नेता नारायणकाजी श्रेष्ठ पनि आफ्नै पार्टीको सरकारको आलोचना गर्ने नेता बनेका छन्। राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले सरकार काममा भन्दा अमूर्त नारामा सीमित भएको आरोप लगाए।
दैनिक दक्ष युवा विदेशिने क्रम बढ्दै गएको भन्दै उनले अमूर्त नारा दिएर मात्रै क्रान्ति नहुने बताए।
उनले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भइसकेको बताए। भने, 'मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारीबाहेक अरु सबलाई म सफाया गर्दिन्छु। त्यसरी भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन। त्यसरी कम्युनिष्ट आन्दोलन चल्दैन। मार्क्सका अनुसार क्रान्तिको पहिलो निशाना आफू हो। ”
पार्टी मार्क्सवादी सिद्धान्त र चिन्तनबाट विचल्लित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति कमजोर बनेको र समयमै वैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाम मात्रमा सीमित हुने खतरा औँल्याए।
दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक रुपमा विस्तार गर्दै सामाजिक न्याय सहितको सम्वृद्धि हासिल गरि समाजवाद उन्मुख सम्वृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिए।