
काठमाडौँ : आधी अबाधी एभीएल महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा एपीएफले न्यू डायमण्ड क्लबसँग खेल्ने छ।
प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभूवन आर्मी क्लब भने समूह चरणबाट बाहिरिएका छन्।
सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै चितवन समूह ए को विजेता बनेको हो।
पहिलो सेट २५–१९ ले सहजै जितेको चितवनलाई बाँकी सेटमा न्यू डायमण्डले कडा टक्कर दियो। दोस्रो सेट २९-२७ ले जित्दै डायमण्डले खेल १-१ को बराबरी गरेको थियो। तर तेस्रो सेट २५-१९ ले जितेको चितवनले चौथो सेट ट्राइबेकरमा २८-२६ ले जित्दै खेल जित्यो।
जितपछि चितवन समूह ए को विजेता तथा न्यू डायमण्ड उपविजेता बन्यो।
यता समूह बी को खेलमा एपीएफले पोखरा पिंकेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह्य विजेता बन्यो। एपीएफले पोखरालाई २५–१३, २५–११, २५–१५ ले सहजै हरायो।
एपीएफले पोरखालाई पारजित गरेपछि यसअघि पोखरालाई पराजित गरेको पुलिस पनि समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो। प्रतियोगिताको दुवै सेमिफाइनल खेल मंगलवार हुँदैछ।
नेपाली भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ। त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन्।