
बार्सिलोनाः स्पेनबाट क्याटलोनिया क्षेत्रलाई अलग गर्ने गरी गत वर्ष भएको जनमत संग्रहको एक वर्ष पुगेको छ। यो एक वर्षमा समस्याको समाधान भने हुन् सकेको छैन। सोमवार स्वतन्त्रताको माग राखेका क्याटलोन अभियन्ताहरूले स्वतन्त्र क्याटलोनियाको माग गर्दै प्रदर्शन गरेका छन्।
उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा सञ्चालन हुने रेलमार्गमा पनि अवरोध गरेको बीबीसीले जनाएको छ।
‘सबै कुरा अक्टोबर १ देखि सुरु हुन्छ र विवाद फर्केर अक्टोबर १ मै पुग्छ,’ क्षेत्रीय पृथकतावादी अध्यक्ष क्विम टोराले भने।
उनले सम्बोधन गरेको क्याटलोनियाको उत्तरी क्षेत्रमा पर्ने सान्त जलिया डे रमिसमा आयोजित समारोहको मञ्चमा ‘नभुलौँ नभुलौँ’ भन्ने लेखिएको सेतो र कालो ब्यानर राखिएको थियो।
गिरोनामा पर्ने झन्डै दश किलोमिटर सडकमा र रेलमार्गमा १० औँ हजार प्रदर्शनकारीहरूले अवरोध गरेका थिए। उनीहरूले झन्डै तीन घण्टा अवरोध गरेका थिए भने उनीहरूको अवरोधका कारण फिगुरेज, गोरोना र बार्सिलोनामा प्रभाव परेको थियो।
त्यहाँको नगर प्रहरीका अनुसार प्रदर्शनमा एक लाख ८० हजार प्रदर्शनकारीहरू वार्सिलोनामा जम्मा भएको एएफपीले जनाएको भन्दै बीबीको समाचारमा उल्लेख छ।
गत वर्ष अक्टोबर १ मा त्यहाँको क्याटलोन स्पेन विभाजनको पक्षमा मतदान भएको थियो भने, २७ अक्टोबरमा क्याटलोनलाई स्पेनबाट अलग भएको घोषणा गरिएको थियो। तर, स्पेनको संवैधानिक अदालतले जनमत संग्रहलाई अवैधानिक घोषणा गरेको थियो। लगत्तै मर्डिडले क्याटलोनमा त्यहाँको सरकारलाई अपदस्त गरी प्रत्यक्ष शासन सुरु गरेको थियो।
प्रदर्शन त्यहाँको कमिटी फर दी डिफेन्स अफ दी रिपब्लिक (सीडीआर)ले आयोजना गरेको थियो। प्रदर्शनमा विद्यार्थीहरूले सहरको मुख्य केन्द्रमा ‘माफी दिँदैनौँ भुल्दैनौँ’ लेखेका ब्यानरसहित प्रदर्शन गरेका थिए। उनीहरूले स्पेनको राष्ट्रिय झन्डा जलाउँदै त्यहाँका सरकारी कार्यालयमा पृथकतावादी क्याटलोनियाको झन्डा फहराएका छन्।
यो समितिले देशको राजधानी वार्सिलोना प्रवेश गर्ने राजमार्गसमेत अवरोध गरेको थियो। सिडिआरले स्पेनसहित लन्डन, र पेरिसमासमेत प्रदर्शन गरेको छ।
उनीहरूले लन्डनको सडकमा ‘लभ क्याटलोनिया, हेट फासिज्म’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए।
जनमत संग्रहको वार्षिकोत्सव मनाउने प्रदर्शनकारी र प्रहरीबीच शनिवार झडप हुँदा दुई दर्जन प्रदर्शनकारी घाइते भएका थिए। गत वर्ष भएको जनमत संग्रह पछि बनेको क्षेत्रीय सरकारका राष्ट्रपति चाल्र्स पुज्डेमोन्टसहितका नेतालाई मर्डिडले पक्राउपूर्जी जारी गरेपछि उनीसहितका नेताहरू निर्वासनमा गएका थिए।
उनी मर्डिडको पक्राउ पुर्जी छल्न बेल्जियममा निर्वासनमा बसेपछि उनको स्थानमा क्यूम टोराले गत जुनमा लिएका छन्।
अक्टोबर १ को अवसरमा पृथकतावादी नेता पुज्डेमोन्टले भिडियो सन्देश जारी गर्दै पूर्ण प्रजातन्त्र प्राप्तिका लागि निरन्तर संर्घष गर्न आह्वान गरेका छन्।