
काठमाडौं : केही समय यता प्रहरीको छवि लगातार रुपमा नराम्रोसित धमिलिएको छ। ३३ किलो सुन र १३ वर्षीया निर्मला पन्त प्रकरणले त झन् प्रहरीप्रतिको विश्वास नै ढुलमुलाएको देखिन्छ। जनताको सुरक्षा र घटनाको अनुसन्धानमा खटिएका एसपी डिल्लीराज विष्टको डिएनए परीक्षण एउटा पछिल्लो ज्वलन्त उदाहरण हो।
तर, सर्वसाधारणका लागि प्रहरीमा भर नपरी सुखै छैन। त्यसैले त सानो विवाददेखि चोरीसम्मका घटनामा प्रहरीकहाँ पुग्ने चलन नै बनेको छ।
गत बिहीवार लोभा रोय बानेश्वरको एपेक्स कलेज हुँदै ठूलो खरिबोट जाँदै थिए। समय दिउँसोको ४ बजेको थियो। केही पर पुगेर खल्ती चेक गरे। उनको खल्तीमा भएको मोटरसाइकलको चावी थिएन। जिएसआर ६ सय सीसीको मोटराइकलको चाबी हराएको रहेछ। उनी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगे र उजुरी दिए। पहिलोपोस्टसँगको कुराकानीमा रायले भने, 'कोही राम्रा मानिसले चावी भेटाएर प्रहरीकहाँ बुझाए भने पाउँछु कि भन्ने आशाले उजुरी दिएको हुँ।'
मोटरसाइकलको चावी बनाउन ४० देखि ५० हजार रुपैयाँ लाग्ने भएकाले उनी प्रहरीकहाँ पुगेका थिए। मोटरसाइकलको चावी हराएदेखि राय चिन्तित छन्। उनी यतिखेर प्रहरीको फोन कुरेर बसेका छन्। 'थोरै आशा प्रहरीसँग छ। कतै भेटिएर फोन त गर्ने होइन भन्ने लागि रहन्छ,' उनले भने।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा असोज महिनाको १५ दिनमा मात्र ५६ वटा सामान हराएको उजुरी परेको छ। तर, यही अवधिमा ११ वटामात्र सामान फेला पारेर प्रहरीले सम्बन्धितलाई फिर्ता गरेको छ।
कार्यालयमा सबैभन्दा धेरै मोबाइफोन, महत्त्वपूर्ण कागजपत्र, नगद हराएको भन्दै आउने गरेको खोजतलास शाखाका प्रहरी जवान अमृत गौतम बताउँछन्। उनी भन्छन्, 'सानोभन्दा सानो सामान हराउँदा पनि उजुरी आउँछ। हामी जुन जिल्लाको हो त्यहीँ आवश्यक कागजपत्र लिएर जान आग्रह गर्छौं।'
कुनै पनि सामान हराएमा प्रहरीको मोबाइल नम्बर 9851298888 सम्पर्क गरेर जानकारी दिनसक्ने व्यवस्था गरेको छ।