काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताहरुलाई विदेश भ्रमण फापेको छैन। नेकपा शीर्ष नेताहरुको विदेश भ्रमणसँगै पार्टीभित्र विवाद हुने क्रम जारी छ।
पार्टी गठनको दिनदेखि नै नेताहरुको विदेश भ्रमणले विवाद निम्त्याएको छ। नेकपा गठन भएको साढे ४ महिनाको अवधिमा पाँचभन्दा बढी विवाद विदेश भ्रमणकै क्रममा भएको छ।
पार्टी गठन भए यता सबभन्दा बढी विदेश भ्रमणमा गएका नेकपाका वरिष्ठ नेता माधव नेपालले बढी विवाद बढी चर्काएका छन्। केही दिन सुसुप्त रहेको नेकपाका गुटहरु पुनः सक्रिय भएका छन्। पार्टी अध्यक्षसँग असन्तुष्टि राख्दै नेपाल समूहले जिल्लास्तरमा अभियान चलाउने धम्कीसमेत दिएका छन्।
नेकपा गठनदेखि हालसम्म शीर्ष नेताहरु विदेश भ्रमणमा रहेका बेला भएको मुख्य पाँच विवाद यस्ता छन्:
झलनाथ खनालको चीन यात्रा र पार्टी एकता
तत्कालिन नेकपा (एमाले)को दोस्रो वरियताका नेता झलनाथ खनाल पार्टी एकीकरण हुँदा चीन भ्रमणमा थिए। चीन भ्रमणमा रहेकै बेला जेठ ३ गते पार्टी एकीकरण घोषणा हुँदा खनालको वरीयता खोसियो।खनाल दोस्रोबाट चौथो वरीयतामा झरे। त्यसबेलाबाट रुष्ट भएका खनालले पार्टीमा विवाद झिक्दै आएका छन्। उनी अध्यक्षद्वयविरुद्ध सशक्त रुपमा प्रस्तुत हुन पनि सकेका छैनन् भने आफ्नो गुटलाई पनि अगाडि बढाउन सकेका छैनन्। तर, बेला मौकामा खनालले असन्तुष्टि प्रकट गर्दै आएका छन्।
माधव नेपालको आफ्रिका भ्रमण र प्रदेश इन्चार्ज र अध्यक्षको टुँगो
नेकपाको तेस्रो वरियताका नेता माधव नेपाल अफ्रिका भ्रमणमा गएका बेला सचिवालयले प्रदेश इन्चार्ज र अध्यक्षहरुको टुँगो लगायो। नेपालको अनुपस्थितिमा प्रदेशको जिम्मेवारी बाँडफाँड हुँदा आफ्नो पक्षलाई पेलिएको भन्दै नेपालले अहिलेसम्म विरोध गर्दै आएका छन्।पार्टीको सम्पूर्ण शक्ति अध्यक्षद्वयमा सीमित गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै नेपालले असन्तुष्ट नेताहरुलाई आफ्नो समूहमा जोड्दैछन्।
प्रचण्डको भारत भ्रमण र बिमस्टेसको सैन्य अभ्यास
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रणणमा गएका थिए। भारत भ्रमण जानुअघि सरकारका मन्त्री हेरफेर गर्ने सहमति भएको थियो। भारतको स्वार्थमा बिमस्टेक राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय पनि भएको थियो।प्रचण्ड भारतमा राजनीतिक भेटघाट गरिरहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुईटा निर्णय गरे। मन्त्रीहरु हेरफेर नहुने घोषणा गरे भने बिमस्टेक राष्ट्रहरुबीचको सैन्य अभ्यासमा जानबाट नेपाली सेनालाई रोके। ओलीको उक्त निर्णयले प्रचण्ड चिढिए पनि बाहिर विवाद देखिएन।
भारत भ्रमणअघि मन्त्री हेरफेरबारे सार्वजनिक रुपमै बोलेका प्रचण्डले भ्रमणपछि प्रक्रिया दिए,‘प्रधानमन्त्री ओलीले भनेको नै सही हो।’ प्रचण्डले असन्तुष्टि जाहेर नगरी चुपचाप बसे।
प्रधानमन्त्रीको अमेरिका भ्रमण र नेपाल समूहको सक्रियता
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिकामा रहेका बेला माधव नेपाल समूहले सरकारको चर्को गरे। पार्टीभित्रको विवाद छताछुल्ल भएर बाहिर आयो।माधव नेपाल समूहले राखेको असन्तुष्टिबाट पार्टी नै तरंगित भएको छ। पार्टीमा दुईधार प्रष्ट देखिन थालेको छ। प्रधानमन्त्री ओली नेपालमै रहेका बेला गोप्य भेला गर्ने गरेका नेपाल समूहले ओली अमेरिकामा रहेका बेला खुलेरै विरोध जाहेर गर्न भेला डाकेका थिए।
नेपाल समूहले स्थायी समितिको चियापान गरेपछि सिंगापुरमा रहेका प्रचण्डले नेपालसँग टेलिफोन वार्ता गरे। ओली अमेरिकामा रहेका बेला ओली विरुद्ध खनिएका नेपालले प्रचण्डसँगको फोन वार्तालाई महत्वका साथ हेरिएको छ।
ओली समूहले प्रचण्ड भारत र चीनको भ्रमण गर्दा प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा लागेको आरोप ओली निकटहरुले लगाएका थिए। माधव नेपालले पनि ओली सरकारको विरोध गर्दा सरकार ढाल्ने खेलमा लागेको ओली समूहको आरोप रहेको छ। यसैबीचमा प्रचण्ड र नेपालको फोन वार्ता भएको छ।
माधव नेपाल चीन गएका बेला प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किदैछन्। ओली फर्केपछि नेपालप्रति आक्रमक रुपमा प्रस्तुत हुने स्वभाविकै आंकलन गरिएको छ।