PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कञ्चनपुरमा पुन: आन्दोलन चर्किदै, सरकारी कार्यालय र सवारी साधनमा बन्दकर्ताको तोडफोड



एम बम

कञ्चनपुरमा पुन: आन्दोलन चर्किदै, सरकारी कार्यालय र सवारी साधनमा बन्दकर्ताको तोडफोड

कैलाली: निर्मला पन्तको हत्या प्रकरणलाइ लिएर केही दिन शान्त रहेको कञ्चनपुर फेरि अशान्त बन्न थालेको छ। साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मलाको घटनामा प्रहरीले नै प्रमाण मेट्ने काम गरेको आरोप लाग्दै आएको छ भने घटना झन् रहस्यमय बन्दै गएको छ। 

घटनाका दोषी भनेर आशंका गरिएका तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा र धनगढीका मेयरका छोराको डिएनए रिपोर्ट नेगेटिभ देखिएपछि कञ्चनपुरमा फेरी आन्दोलन चर्किन थालेको छ। आन्दोलनकै प्रभावले हिजो शैक्षिक संस्थामात्रै बन्द रहेको कञ्चनपुरमा आज पूर्ण रुपमा बन्दको आह्वान गरिएको छ। आज नेविसंघ कञ्चनपुरले बन्दको आह्वान गरेको हो। 

यातायात, बजार, शैक्षिक संस्था लगायत सम्पूर्ण कार्यालय र पसलहरु समेत बन्द छन्। लामो दूरीबाट आएका सवारी साधनहरुलाई सदरमुकाम प्रवेश गर्न दिइएको भए पनि महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। 

घटनाको ६८ दिन वित्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर एक दिने जिल्ला बन्दको आह्वान गरिएको नेविसंघ कञ्चनपुरका जिल्ला उपाध्यक्ष कुलैराज उपाध्यायले बताए। 
 
चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले आफ्ना आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। आन्दोलनका थप कार्यक्रम आज साँझ सार्वजनिक गरिने पनि उपाध्यायले बताए। 

सरकारी कार्यालयमा बन्दकर्ताको तोडफोड

बजार बन्द गारउदै हिँडेका नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालयमा तोडफोड गरेका छन्। बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले कार्यालयमा तोडफोड गरेका हुन्। 

बन्दकर्ताले जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय र जिल्ला सरकारी वकिल कार्यालका संरचना तोडफोड गरेका छन्। उनीहरुले जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरको गाडीमा पनि तोडफोड गरेका छन्। बा २ झ २७१५ नम्बरको कार्यालयको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ।

हत्यारा पत्ता लगाउन, अनुसन्धानका क्रममा प्रमाण मेटाउने काम गरेको आरोप लागेका प्रहरी अधिकृतहरुलाई कारबाही गर्न तथा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन रिपोर्ट सार्वजनिक गर्न माग राखेर विभिन्न संघसंस्था, अधिकारकर्मीहरु समेत कञ्चनपुरमा निरन्तर शान्तिपूर्ण आन्दोलनमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell