PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

एभिएल महिला भलिबलको उपाधिका लागि चितवन टाइगर्स र एपीएफ भिड्ने



पहिलोपोस्ट

एभिएल महिला भलिबलको उपाधिका लागि चितवन टाइगर्स र एपीएफ भिड्ने

काठमाडौँ : आदी अबाधी भलिबल लिग (एभिएल) महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन्।

समूह चरणमा अपराजित रहेका यी दुई टोलीले मंगलवार सेमिफाइनल जित्दै फाइनल भेट पक्का गरेका हुन्।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा चितवनले विभागीय टोली नेपाल पुलिसलाई ३-० ले सहजै हरायो। तीन अमेरिकी खेलाडीसहित मन्जु गुरुङ र अरुणा शाही समावेश चितवनले पुलिसलाई २५-११, २५-१४, २५-२३ ले पराजित गरेको हो। अग्ला कदका अमेरिकी खेलाडीको साथ पाएको चितवनले समूह चरणमा न्यू डायमण्ड र त्रिभुवन आर्मीलाई पराजित गरेको थियो।

दोस्रो सेमिफाइनलमा एपीएफले चिरपरिचित प्रतिद्वन्दी न्यू डायमण्डलाई पराजित गर्‍यो। तीन वटै सेटमा न्यू डायमण्डले कडा चुनौती दिएपनि एपीएफ सोझो सेटमा खेल जित्यो।

पहिलो सेटमा डायमण्डले ८-३ को अग्रता लिँदै उत्कृष्ट सुरुवात गरेको थियो। १८-१८ हुँदा सम्मा डायमण्डले नै अग्रता लिइरहेको थियो। तर त्यसपछि एपीएफले खेलमा लिड गर्दै पहिलो सेट २५-२३ ले जित्यो। दोस्रो सेटमा १३-१६ ले पछि परेको डायमण्डले पुनरागमन गर्दै २३-२० को अग्रता बनाएको थियो। त्यसपछि २४-२१ को अग्रता बनाउदै तीन म्याच प्वाइन्ट पाएपनि डायमण्डले उक्त सेट जित्न सकेन र एपीएफले टाइब्रेकरमा २६-२४ ले आफ्नो पक्षमा पार्दै लगातार दुई सेट जित्यो।

दुई सेट हारेपछि होपलेस बनेको डायमण्डमाथि एपीएफले तेस्रो सेटमा १४-७, १६-८, हुँदै २०-१२ को अग्रता लियो। ८ प्वाइन्टले पछि परेको डायमण्डले पुनरागमन गर्दै २०-२२, २२-२३ सम्म पुर्‍याएको थियो। तर एपीएफले २५-२३ ले सेट जित्यो।

एपीएफ र चितवन टाइगर्सबीचको फाइनल खेल बुधवार दिउँसो २:३० बजे हुने आयोजकले जनाएको छ। नेपाल भलिबल संघ र आदी अबाधी फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको एभिएल नेपाल महिला भलिबलको विजेताले नगद ६ लाख पुरस्कार हात पार्नेछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell