
काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत समूह बी को खेलहरु आजबाट मलेसियामा सुरु हुँदैछ।
एसिया कवालिफायरको पहिलो चरणको छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल, आयोजक मलेसिया, सिंगापुर चीन थाइल्याण्ड भुटान र म्यानमार छन्।
नेपालले आज म्यानमारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। नेपाल र म्यानमारबीचको खेल आज दिउँसो नेपाली समयअनुसार सवा १२ बजे मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुनेछ।
नेपाल र म्यानमार यसअघि जम्म एक पटक मात्र भिडेका छन्। त्यसमा पनि नेपालले कीर्तिमानी जित हात पारेको थियो। सन् २००६ मा भएको खेलमै नेपालले म्यानमारलाई मात्र २ बल खेलेर १० विकेटले पराजित गरेको थियो।
सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १२.१ ओभरमा ११ रनमै अलआउट गराएको थियो। मेहबुब आलमलले ७ र विनोद दासले ३ विकेट लिएका थिए।
नेपालको लागि ज्ञानेन्द्र मल्ल र महेश क्षेत्रीले ३-३ रन बनाए। बाँकी रन एक्स्ट्राबाट पाएको थियो। उक्त खेलमा खेलेका ज्ञानेन्द्रसहित कप्तान पारस खड्का, शरद भेषावकर र बसन्त रेग्मी अहिले पनि नेपाली टिममा छन्।
राउण्ड रोविन लिगपछि यस समूहको शीर्ष तीन स्थानमा रहने टोली एसिया क्वालिफायरकै दोस्रो चरणमा छानिनेछन्। जहाँ एसियाका कूल ६ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ।