PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

शून्य दरबन्दीमा मावि सञ्चालन



पहिलोपोस्ट

पाल्पाः यहाँका दुई विद्यालयमा मावि दरबन्दी शून्य रहे पनि कक्षा सञ्चालन भइरहेको छ। रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ।

प्राविका शिक्षक र निजी शिक्षकका भरमा माविमा कक्षा सञ्चालन गर्नु परेको छ। मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरसँगै शिक्षकको पारिश्रमिक व्यवस्थापनमा समस्या भएको छ। तल्ला तहका शिक्षकका भरमा माविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। दरबन्दी नभए पनि अनुदानका शिक्षकसमेत आकर्षक सुविधा नहुँदा आवदेन दिन रुचाउँदैनन्। अनुदानका शिक्षक करारका हुन्।

कालिका आधारभूत जोगीथुम र दुर्गा भवानी आधारभूत विद्यालय देउरालीमा शिक्षक दरबन्दी शून्य रहँदा प्रावि तहका शिक्षकका भरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। भाष्कर माविमा एक निजी स्रोतका शिक्षक छन्। उनको मासिक पारिश्रमिक रु २० हजार रहेको छ। मासिक रु सात/सात हजारमा निजी स्रोतबाट दुई शिक्षक नियुक्त गरेपछि तलब कसरी जुटाउने भन्ने समस्या छ। पठनपाठन प्रभावित हुँदै आएको छ।

प्राविमा चार शिक्षकको दरबन्दी, आधारभूत तहमा दुई र एक राहतका शिक्षक छन्। निजी स्रोतका शिक्षकलाई मासिक तलब खुवाउन समस्या भएको प्रधानाध्यापक रिखबहादुर खत्री बताए। गत आवमा गाउँपालिका र स्थानीय बासिन्दाको सहयोगमा निजी स्रोतका शिक्षकलाई तलब खुवाइएको थियो। यस वर्ष स्थानीय बासिन्दाबाट पैसा सङ्कलन गरी तलब खुवाउनुपर्ने बाध्यता छ।

एक अनुदान शिक्षकका लागि कोटा पाए पनि विज्ञापन अनुसार कसैले पनि आवेदन नदिएको प्रअ खत्रीले बताए। “आवदेन नपरेपछि अहिले तेस्रो पटक विज्ञापन गर्नु परेको छ,” उनले भने।

लक्ष्मी माविमा १२५ विद्यार्थी अध्ययनरत छन्। पाँच निजी स्रोतका शिक्षक छन्। खर्च धान्न नसकेपछि तीन जनाको नवीकरण हुन सकेको छैन। मावि तहमा निजी स्रोतका एउटा शिक्षकलाई रु आठ हजार ५०० तथा अर्कोलाई रु चार हजार ५०० तलब उपलब्ध गराइएको छ।

विद्यालयका प्रअ प्रेमबहादुर खड्का अर्को वर्षदेखि विद्यालय सञ्चालन गर्न गाह्रो हुने बताउँछन्। महोत्सवबाट सङ्कलन भएको रकम तथा गाउँपालिकाको सहयोगबाट निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्नु परेको छ। विद्यालयमा तीन शिक्षक दरबन्दीका, दुई राहत तथा आधारभूत तहमा तीन राहतका शिक्षक कार्यरत छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell