चितवनः गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन्।प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताएका हुन्।
देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै गृहमन्त्री थापाले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने बताए।
घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको भन्दै उनले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिए। गृहमन्त्री थापाले भने, “घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्छौँ।”
उनले सरकार गठन भएपछि 'समृद्ध नेपाल,सुखी नेपाली' अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरे। सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै गृहमन्त्री थापाले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताए। उनले भने, “गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजस्वमा गुणात्मकरुपमा वृद्धि भएको छ।”
गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताए। उनले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताए।
पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानुनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिए।
छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्कर्षको आधारमा दोषीलाई कारवाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने उनले जानकारी दिए। यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको गृहमन्त्री थापाले बताए।
अर्को एक प्रसंगमा उनले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको दाबी गरे। गृहमन्त्री थापाले भने,“३३ किलो सुन मात्रै नभएर ४ हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ। सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ।”
साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उनले जबसम्म तिनीहरु कानुनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताए। रासस