
काठमाडौः निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समीरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोमा बस्नेतका परिवारले बस्नेतको जीवन रक्षाको माग गरेको छ।
बुधवार बस्नेतका परिवारले पत्रकार सम्मेलन गरी जेल सारेकोमा आपत्ति जनाउँदै जीवन रक्षाको माग गरेका हुन्। बस्नेतकी श्रीमती माया शेरचन र दाइहरू सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समीरलाई काठमाडौँबाट रातारात मुस्ताङ पुर्याएको भन्दै आपत्ति जनाए।
बस्नेतकी श्रीमती शेरचनले भनिन्,‘मलाई जानकारी नै नगराई रातारात उहाँलाई मुस्ताङ लगियो। त्यो दिन राति ६ बजे मुस्ताङ लगिँदै छ भनेर जानकारी दिइएको थियो। म चाहिँ मोटरसाइकलबाट पोखरा गएँ। पोखरामा श्रीमानलाई भेट्दा कहाँ लगिँदै छ भनेर उहाँलाई पनि थाहा नभएको कुरा मसँग भन्नुभयो।’
त्यही दिन मुस्ताङको लागि लग्ने कुरा भए पनि माथिको आदेश नभएको भन्दै बेनीमै बस्नेतलाई राखिएको उनले जनाइन् । उनले भनिन्,‘भोलिपल्ट मुस्ताङको लागि उहाँलाई त्यहाँबाट जिपमा हालेर लगिएको थियो ।’
उनले आफूलाई प्रहरी प्रशासनले श्रीमानसँग भेट्नसमेत नदिएको गुनासो पोखिन्। उनले आफ्नो श्रीमानलाई प्रहरी प्रशासनले यसरी काठमाडौँ बाहिर लैजानुमा शंका उत्पन्न भएर आज पत्रकार सम्मेलन गर्न आएको जानकारी दिएकी थिइन्। जोमसोम कारागार सुरक्षित नभएको भन्दै उनले भनिन्,‘उहाँलाई बरु काठमाडौँको गोलघरमै राखिदिएको भए हुन्थ्यो। सुरक्षा संवेदनशीलताको कुरा उठ्यो भनिएको छ, त्यसो हो भने त उहाँलाई कडा सुरक्षा भएको कारागारमा राखिनुपर्दथ्यो।’ उनले आफ्नो श्रीमानलाई प्रहरीले इनकाउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाइन् ।
बस्नेतलाई सोमबार मुस्ताङ लगिएको हो। गत असोज २३ गते काठमाडौँको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा गत मंसिरमा बस्नेत पक्राउ परेका थिए।