PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

अख्तियार प्रमुखलाई सांसदको प्रश्नः ठूला माछा छुनै नसक्ने, अनि सिद्रा समातेर बस्ने?



बीपी साह

अख्तियार प्रमुखलाई सांसदको प्रश्नः ठूला माछा छुनै नसक्ने, अनि सिद्रा समातेर बस्ने?

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला अपराधीलाई समात्न नसकेको भन्दै सांसदहरुले आलोचना गरेका छन्।

बुधबार सिंहदरबारस्थित समितिको सभा हलमा बसेको प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार प्रमुखसहितको टोलीसँग सांसदहरुले ठूला अपराधीलाई समात्न नसकेको भन्दै आलोचना गरेका हुन्।

बैठकमा सांसद देवेन्द्रराज कंडेलले अख्तियारले उच्च ओहोदाका व्यक्तिलाई कारवाही नगरी साना कर्मचारीहरुलाई मात्र समात्ने गरेको आरोप लगाए।

भने,‘तपाईहरुले ठूलो माछा छुन नसक्ने अनी सिद्रा समातेर बस्ने?’

कंडेलको प्रश्नमा अख्तियार प्रमुख नवीन घिमिरेले भने,‘हामीले ठूलो माछालाई पनि कारवाही गरेका छौं। दुई रुपैंयादेखि करोडौंसम्म खाने अपराधीसम्मलाई। लामो एक्सरसाइजपछि ठूला अपराधीलाई दायरामा ल्याउँदैछौं। तर अहिले खुलासा गर्दैनौं।’

सांसद जनार्दन शर्माले भ्रष्टाचारको केन्द्र अख्तियार नै रहेको आरोप लगाउँदै भने,‘के अहिले अख्तियारले स्वतन्त्र ढंगले निर्णय गर्न सक्छ?’

जवाफमा प्रमुख घिमिरेले पहिले जे जसो भएपनि अब नीतिगत नै परिवर्तन आएको बताएका थिए।

प्रमुख घिमिरेले आयल निगम र वायुसेवा निगमको भ्रष्टाचारबारे पनि छानविन भइरहेको जानकारी गराए।

यातायात, नापी र मालपोतमा एउटा पनि कर्मचारी रहँदैन

अख्तियारले कारवाही गर्दै जाँदा यातायात कार्यालय, नापी विभाग र मालपोत कार्यालयमा एउटा पनि कर्मचारी बाँकी नरहने अवस्था आउन सक्ने अख्तियार प्रमुख घिमिरेले बताएका छन्।

ती कार्यालयहरुमा व्यापाक अनियमितता भएको भन्दै सांसदहरुले अख्तियार प्रमुखसँग जवाफ मागेका थिए।

‘हामीले स्टिम अपरेसन गर्दा नापी, यातायात र मालपोत कार्यलयमा एउटा पनि कर्मचारी बाँकी रहदैन जस्तो लाग्छ। एउटै ठाउँबाट धेरै संख्यामा कारवाहीमा परिरहेका छन्। एउटै कार्यालयबाट ८० जना कर्मचारी दोषी भेट्यौं। सबैलाई निलम्बन गर्न भनेपछि कार्यालयमा एउटा पनि कर्मचारी नरहने अवस्था पनि हामीले देख्यौं।’
 

१३ पाने आतंकको अत्य

अख्तियार प्रमुख घिमिरेले मिडियामा प्रचार भए जस्तो सम्पति विवरण सम्बन्धी १३ पाने आतंक भन्ने कुराको अन्त्य भएको बताएका छन्। 

‘अब सम्पति विवरण छानविनका लागि पहिले हामीले १३ पाने फारम भराउँदैनौं। सबभन्दा पहिले हाम्रो इन्टेलिजेन्सले छानविन गर्छ। सबै डकुमेन्टहरु जम्मा पारेर मात्र १४ पानाको फारम भर्न लगाउने छौं,’ प्रमुख घिमिरेले भने।

अख्तियारले फारम भराएर तर्साउने गरेको भन्ने कुरा अब अन्त्य हुने बताउँदै घिमिरेले सम्पति छानविनको कुरा अदालत पुगेपछि मात्र बाहिर आउने जानकारी दिए।

निर्माण कार्यमा ढिलासुस्ती भइरहेको विषयमा अख्तियारले छानविन थालेको उल्लेख गर्दै निर्माण व्यवसायीलाई असर नपर्ने गरी कारवाही अगाडि बढ्ने बताए। राष्ट्रिय गौरवका आयोजनाको विषयमा पनि अख्तियारले छानविन थालेको घिमिरेले जनाए।

नक्कली प्रमाणपत्रका विषयमा पनि छानविन भइरहेको घिमिरेको भनाई थियो।

स्थानीय निकायको भ्रष्टाचारबारे चिन्ता

समितिको बैठकमा सांसदहरुले स्थानीय निकायमा बढेको भ्रष्टाचारका विषयमा चिन्ता व्यक्त गरेका थिए। उक्त विषयमा अख्तिारसँग जवाफ पनि मागिएको थियो।

स्थानीय निकायको अवस्था बुझ्न अख्तियारले अनुगमन गरेको जानकारी दिँदै प्रमुख घिमिरेले भने,‘स्थानीय निकायलाई हामीले नजिकबाट नियालिरहेका छौं। मुख्य रुपमा प्रमुख र उपप्रमुखबीच अधिकारको विवादहरु देखिएको छ। कर्मचारी नियुक्तका विषयमा पनि अनियमितता र विवाद भइरहेको छ। जनप्रतिनिधिले नै स्काभेटर खरिद गरिरहेका छन्। उनीहरुले नै सडक निर्माण गर्न थालेपछि भ्रष्टाचार व्यापाक हुने हामीले आशंका गरेका छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell