PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

अग्रिम टिकट बुकिङमा हुने अनियमितताको अनुगमन शुरु



पहिलोपोस्ट

अग्रिम टिकट बुकिङमा हुने अनियमितताको अनुगमन शुरु

काठमाडौंः दशैँको अग्रिम टिकट बुकिङमा कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ। 

अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए। सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उनले सुनाए। 

विभागको नेतृत्वमा बुधबार नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ। नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन्। दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन्। असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए। 

बुकिङ शुरु गरेको भोलिपल्टदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायात सुधारका लागि आवाज उठाउँदै आएका रामबहादुर थापाले बताए। 

केही कम्पनीका टिकट काउन्टरले सीमित मात्रामा टिकट बुकिङ गरे पनि समितिका काउन्टरले भाडा बढाउने अस्त्रका रुपमा मात्र अग्रिम बुकिङलाई प्रयोग गरेको उनको भनाइ छ। नयाँ बसपार्कलगायत टिकट काट्ने काउन्टरमा समायोजन गरेको भाडा सूची नहुँदा यात्रुसँग मनपरी भाडा असुली भइरहेको छ। 

मन लागे जति भाडा लिन काउन्टरले कहाँबाट कहाँ जाने स्थानको नाम समेत लेख्दैनन् । सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए। 

दशैँ अघि नै असोज ७ गते समायोजन गरिएको भाडा सूची प्रकाशन गरेर वितरण गर्न लागिएको उनले जानकारी दिए। मुख्य–मुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ। विभागले तोकेको भन्दा रु एक मात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना गरिने जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell