काठमाडौं : 'बा९९प' मा '९९९९' सम्म मोटरसाइकल दर्ता भैसकेका कारण साबिकको बाग्मती अञ्चलमा मंगलबारदेखि नयाँ दर्ता रोकिएको छ। योसँगै साविकको बागमती अञ्चलमा दर्ता हुने मोटरसाइकलको सख्या १० लाख पुगेको छ।
९९ लटसम्म वितरण भैसकेको र कानुनले नयाँ दर्ता गर्न नपाइने अवस्था आएपछि बाइक दर्ता रोक्नुपरेको यातायात व्यवस्था विभाग अन्तर्गतको मोटरसाइकल दर्ता कार्यालयले जनाएको छ।
यातायात व्यवस्थापन नियमावलीमा दुर्इ अंकका नम्बर राखेर मात्रै नयाँ मोटरसाइकल दर्ता गर्न मिल्ने प्रावधान छ।
यस्तो खालको समस्या आउन सक्छ भन्दै कार्यालयले दुर्इ महिना पहिले नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलार्इ ब्रिफिङ गरेको थियो।
यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले यातायात व्यवस्थापन नियमावली संशोधन गर्नका लागि भदौ १७ गते प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको जानकारी दिए। तर प्रधानमन्त्री कार्यालयले तत्काल नियमावली संशोधन गर्दा दर्ता नै रोक्नु पर्ने अवस्था आएको हो।
निर्देशक उपाध्यायका अनुसार अब मन्त्रिपरिषदबाट तीन वटा डिजिट राखेर मोटरसाइकल दर्ता गर्न मिल्ने गरी संशोधन भएर आउनेछ। देशबाहिर रहेका प्रधानमन्त्री केपी ओली देश फर्किएपछि बस्ने मन्त्रिपरिषदले निर्णय गरेपछि दर्ताको बाटो खुल्ने छ। अब आउने नयाँ नम्बर प्लेट 'बा१००प' हुनेछ।
मोटरसाइकल बिक्री वितरण हुने चाडपर्व नजिकैको यो मुख्य सिजनमा दर्ता रोकिएका कारण नयाँ मोटरसाइकल आयात गर्ने कम्पनीहरु अप्ठ्यारोमा पर्ने भएका छन्।