
स्पानिस क्लबद्वय बार्सिलोना र एट्लेटिको मड्रिडले युरोपियन च्याम्पियन्स लिगको समूह चरण खेलमा जित हात पारेका छन्।
लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले समूह बी को खेलमा इंग्लिस क्लब टोटनहमलाई ४-२ ले हरायो। बार्सिलोनकालागि फिलिपि काउटिन्हो र इभान राटिकिटकले एक-एक गोल गरे। टोटनहमका लागि ह्यारी केन र एरिक लामेलाले एक-एक गोल गरे।
यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टरल मिलानले पुनरागमन गर्दै डच क्लब पिएसभी आइन्डहोभनलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। इन्टरका लागि राद्जा नाइङगोलन र मायरो इकार्डीले गोल गरे। पाब्लो रोसारियोले गोल गर्दै पिएसभीलाई पहिले अग्रता दिलाएपनि कायम राख्न सकेन।
समूहबी मा लगातार दुई खेल जितेको बार्सिलोना पहिलो र इन्टर दोस्रो स्थानमा छ।
अर्को स्पानिस क्लब एट्लेटिकोले समूहए को खेलमा क्लब ब्रुगलाई ३-१ ले हरायो। एट्लेटिकोका लागि एन्टोनी ग्रीजमनले दुई तथा कोकेले एक गोल गरे। यसै समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रेन्च क्लब मोनाकोलाई ३-० ले हरायो। डर्टमण्डका लागि जाकोव लार्सेन, फ्रान्सिस्को अल्कासेर र मार्को रिउसले गोल गरे।
दुई-दुई खेल जितेको डर्टमण्ड र एट्लेटिकोले समान ६ अंक जोडेा छन्। गोलअन्तरमा डर्टमण्ड अगाडी रहेको छ