PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

'रियालिटी सो'मा थपियो कौन बनेगा करोडपतिको नेपाली संस्करण, अमिताभले नेपालीमै दिए शुभकामना



रीना मोक्तान

'रियालिटी सो'मा थपियो कौन बनेगा करोडपतिको नेपाली संस्करण, अमिताभले नेपालीमै दिए शुभकामना

काठमाडौं : नेपाली टेलिभिजनमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रममा चर्चित कार्यक्रम कौन बनेगा करोडपति पनि थपिने भएको छ। ‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबीच पनि चर्चित छ। त्यसकैको नेपाली संस्करण हो 'को बन्छ करोडपति'। 

‘नमस्ते नेपाल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहन्छ? म एकदम खुशी छु भारतमा रुचाइएको कार्यक्रम नेपालमा प्रसारणमा आउँदैछ। सबैलाई शुभकामना,’ कौन बनेगा करोडपतिका संचालक अमिताभ बच्चनले नेपाली भाषामा नै नेपाली संस्करणलाई शुभकामना दिएका छन्। 

‘को बन्छ करोडपति - केबीसी नेपाल’को टाइटल प्रायोजक सार्वजनिक गर्ने क्रममा अमिताभले नेपाली भाषामा बोलेका हुन्। 

नेपालमा यसअघि भारतमा चर्चित भइसकेका आइडल, बुगीउगी, रोडिज् र द भ्वाइसको नेपाली संस्करण भित्रिसकेको छ। 

को बन्छ करोडपति राजेश हमालले संचालन गर्नेछन्। होस्ट राजेश हमाल फिचर्ड प्रोमो बिहीवार नै सार्वजनिक गरिएको छ। यसअघि कौन बनेगा करोडपतिबाट प्रभावित हुँदै 'नगद पाँच लाख' नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। त्यसलाई चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले संचालन गरेका थिए तर प्रतियोगीलाई पुरस्कार रकम दिन नसकेको भन्दै अदालतमा मुद्दासमेत परेको थियो। यसलाई मदनकृष्णले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्।  

को बन्छ करोडपतिका लागि तयारी भइरहेको आयोजकले जनाएको छ। कार्यक्रम अर्को महिनाबाट प्रसारणमा आउनेछ। यो एपी वान टेलिभिजनमा प्रसारण हुनेछ।

‘अन्तार्राष्ट्रिय फ्रेन्चाइज भए पनि कार्यक्रममा नेपाली फ्लेवर दिनेछौं,' संचालक राजेश हमालले भने। 

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी मिलिनिअर्स’ को फ्रेन्चाइज संस्करणमा नेपाल १ सय ६१ औं देश हो। ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell