काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल-२०१८ आगामी डिसेम्वरमा हुने भएको छ। आयोजक इपीएल प्रालीले बिहीवार पत्रकार सम्मलेन गर्दै यस वर्षको इपीएल डिसेम्वर ८ देखि २२ (मंसिर २२ देखि पुस ७ गते) सम्म आयोजना हुने जानकारी दिएको हो।
आयोजक इपीएल प्रालीका प्रबन्ध निर्देशक आमिर अख्तरले यस पटक इपीएल हुने समय समेत बढाइएको बताए। इपीएल २०१८ मा १५ दिन चल्नेछ र यसमा सहभागी ६ टिमले कूल १९ खेल खेल्नेछन्।
'दर्शकलाई धेरै इनगेज गर्नका लागि प्रतियोगिताको समय बढाइएको हो। यस पटक तीन वटा शनिवार खेल हुने र त्यसले गर्दा अझ धेरै दर्शकले खेल हेर्ने छन्। सकेसम्म एक दिनमा एक खेल मात्र आयोजना गर्ने योजना अनुसार प्रतियोगिताको समयवाधि बढाइएको हो।'
यस्तै यस संस्करणको इपीएल गत वर्षको भन्दा अझ भव्य बनाउन आयोजकले तयारी गरिरहेको अख्तरले जानकारी दिए। 'प्रतियोगिताको अप्रुभलका लागि आइसीसीलाई अगष्ट ५ मा पत्र पठाइसकेका छौँ। आइसीसीले अप्रुभ गर्ने दुई देखि तीन महिनाको समय लगाउँछ। मेरो विचारमा नोभेम्वर सम्म इपीएलको अप्रुभल आउँछ।'
अख्तरले यस पटक पटकको गत वर्षको भन्दा उत्कृष्ट विदेशी खेलाडीहरु आउने र विदेशी प्रशिक्षकहरु समेत भित्र्याउन पहल गरिरहेको जानकारी दिए। 'फ्रेन्चाइज टिमहरुले पनि विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरिसकेका छन्। केही सार्वजनिक गर्ने प्रक्रियामा छन्। यो वर्ष राम्रो विदेशी खेलाडी आउँदैछन्। साथै विदेशी प्रशिक्षक ल्याउन पनि पहल गरिरहेका छौँ।' उनले केही विदेशी खेलाडी पैसा भन्दा पनि नेपालको नाम सुनेर र यहाँ खेल्नको लागि पनि आउन लागेको बताए।
यस्तै विदेशी खेलाडीलाई खेल बाहेक यहाँको ठाउँ घुमाउन सकिने र होलिडे प्याकेजहरु समेत राख्ने सकिने उनले बताए।
नेपालमा इपीएल अन्त्यतिर पुग्दा युएईमा पनि युएई टी-२० लिग आयोजना हुनेछ। पहिलो संस्करणको टी-२० लिग युएईमा डिसेम्वर १९ बाट सुरु हुने तय छ। नेपालमा डिसेम्वर २२ सम्म चल्नेछ। विश्वका स्टार खेलाडीहरुले युएईमा खेल्दैछन्। नेपालबाट पनि केही खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्।
यसरी प्रतियोगिताको मिति जुध्दा बाहिरका खेलाडीलाई असर पर्ला नी भन्ने जिज्ञासामा अख्तरले इपीएलका सबै मालिकहरुसँग सल्लाह गरेर नै प्रतियोगिताको मिति घोषणा गरेको र यस मितिमा कसैको असहमती नरहेको स्पष्ट पारे। उनले एक-दुई खेलाडीका लागि मिति सार्न नसकिने समेत बताए।
यसैगरी यस पटक पुरस्कार रकम वृद्धि गर्ने आयोजकको कुनै मनसाय नरहेको र राम्रो विदेशी खेलाडी र प्रशिक्षकलाई ल्याएर नेपालमा तीन साता राख्नु नै सबैभन्दा ठूलो उपल्बधी हुने अख्तरले बताए।
गत संस्करणको रिभ्यु कार्यक्रममा आयोजकले २०१८ को इपीएल भव्य हुने जनाएको थियो। त्यही लक्ष्य अनुसार इपीएल-२०१८ को तयारी जुनबाट नै सुरुवात गरेको इपीएलका प्रवन्ध निर्देशक अख्तरले बताए।
इपीएल २०१८ का लागि काठमाडौँ किंग्स ११ र चितवन टाइगर्सले ३-३ विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेका छन्।
गत वर्ष पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्सलाई १ रनले पारजित गर्दै उपाधि जितेको थियो।