PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

दोस्रो विश्व युद्धको ‘वार रुम’ जस्तै प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’



बीपी साह

दोस्रो विश्व युद्धको ‘वार रुम’ जस्तै प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’

काठमाडौं : दोस्रो विश्व युद्धमा बेलायती प्रधानमन्त्री विन्सट्न चर्चिलले बनाएको ‘वार रुम’कै शैलीमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा ‘एक्सन रुम’ खडा गरिँदैछ। 'दोस्रो विश्वयुद्धको बेला विन्सट्न चर्चिलले बनाएको वार रुमको शैलीमा हामीले एक्सन रुम बनाउँदैछौं,’ मुख्य सचिव लोकदर्शन रेग्मीले भने, ‘यहाँबाट सूचना प्रविधिको प्रयोग गरेर देशभरि अनुगमन गर्न सकिनेछ।'

चर्चिलको वार रुम युद्धका लागि रहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको एक्सन रुम भने विकास निर्माण अनुमगनका लागि हुने रेग्मीले बताए।

उनका अनुसार 'एक्सन रुम'को निर्माण एकदेखि डेढ महिनामा सकिनेछ। मुख्य सचिव रेग्मीले भने, ‘विकास निर्माणका कार्यलाई प्रभावकारी अनुगमन गर्न सकिएको छैन जसले गर्दा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति अपेक्षा बमोजिम हुन सकेको छैन।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रगतिबारे संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई जानकारी दिँदै मुख्य सचिव रेग्मीले भने, ‘यो एक्सन रुम निर्माण भएपछि प्रधानमन्त्री कार्यालयबाटै प्रधानमन्त्रीले आयोजनाहरुको अनुगमन गर्न सक्नुहुनेछ भने सोही समयमा निर्देशनसमेत दिनसक्नु हुनेछ।’

उक्त रुमबाट प्रधानमन्त्रीले एकै पटक सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग मिटिङ गर्न सक्ने रेग्मीले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर कार्कीले एक्सन रुमबाट सुरुमा राष्ट्रिय गौरवका ११ वटा योजनालाई अनुगमन गर्न सकिने जानकारी दिए। त्यसपछि सबै आयोजनाहरुको अनुगमन गर्ने व्यवस्था मिलाइने कार्कीले बताए।

समितिको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिवहरुले एक्सन रुमको जानकारी दिएपछि उद्योगपति सांसद विनोद चौधरीले त्यसको प्रसंशा गरे। ‘टेक्नोलोजीको प्रयोगले पारदर्शिता आउनेछ। काममा सहजता हुनेछ। म यसलाई समर्थन गर्छु,’ चौधरीले भने।

सरकारको प्रगतिबारे जानकारी गराउन एकीकृत रुपमा अनलाइन पोर्टल तयार भइरहेको पनि सचिव कार्कीले जानकारी गराएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell