काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा सहभागी हुन असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली १२ दिनपछि अाज स्वदेश फर्किए हुन् । उनी दिउँसो ४ बजे कतार एयरवेजको विमानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल अाइपुगेका छन्।
विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री र्इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालगायतले प्रधामन्त्री अाेलीलार्इ स्वागत गरेका छन्।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घ महासभाको ७३औं अधिवेशनलाई सम्बोधनका साथै सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो ।
प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि पनि ग्रहण गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सामेल छन्।