
काठमाडौं : नक्कली आरोहण अनुमतिपत्र बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ सुकेधारा न्यू कोलोनी बस्ने २९ वर्षीय निभेश कार्की, ४१ वर्षीय विजयश्वर अर्याल र ३० वर्षीय फुर्तेञ्जी शेर्पालाई नियन्त्रणमा लिएको व्यूरोका डिएसपी श्याम ओलियाले जानकारी दिए।
उनीहरू तीनै जना सेभेन समिट ट्रेकिङ प्राइभेट लिमिटेडमा कार्यरत कर्मचारीहरू हुन्। उनीहरूले गत चैत ३० गते सगरमाथा आरोहण दलको आरोहण अनुमति पत्र पर्यटन विभागबाट लिएका थिए। विभागबाट लिएको अनुमति पत्र लुकाई सोही मिति र परमिट नम्बर राखी सक्कली अनुमति पत्रमा भएको १२ जनाको नाममा १ जना चाइनिज नागरिक र १ जना अष्ट्रेलियन नागरिकको नाम थप गरेर कीर्ते अनुमतिपत्र बनाएको खुलेको हो।
त्यसपछि नक्कली अनुमतिपत्र सेभेन समिट ट्रेक प्राइभेट लिमिटेडमा पेश गरेको र सोही किर्ते पत्रको फोटोकपी सगरमाथा प्रदूषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश गरेका थिए।
पर्यटन विभागले सक्कली आरोहण पत्रको फोटो प्रति सगरमाथा प्रदूषण नियन्त्रण समितिमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नम्बरको को पत्रमा आरोही सङ्ख्या फरक भएपछि उनीहरूको कर्तुत खुलेको थियो।
उनीहरूले यसरी अनुमतिपत्र दिलाए वापत करिब २४ लाख रुपैयाँ लिएको खुलेको हो। उनीहरू विरुद्ध सरकारी दस्तखत छाप कीर्ते र ठगी अभियोगमा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।