PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

माधवकुमार नेपालप्रति प्रम ओलीको 'सफ्ट' अट्याक



नेत्र तामाङ

माधवकुमार नेपालप्रति प्रम ओलीको 'सफ्ट' अट्याक

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अध्यक्ष केपी शर्मा ओली आफ्ना पार्टीका वरिष्ठ नेता माधव नेपालप्रति व्यंग्य गर्दै 'चित्त नबुझेको कुरा लयात्मक ढंगले व्यक्त गरेको' बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आज स्वदेश फर्केका प्रधानमन्त्री ओलीले नेपालप्रति लक्षित गर्दै कवि मनले चित्त नबुझेको कुरा व्यक्त गर्नु ठूलो कुरो नभएको बताएका हुन्।

नेकपाकै नेता नेपालले प्रतिनिधिसभामा सम्बोधन गर्दै देश डुब्न लाग्दा पनि सरकार चुप लागेर बसेको आरोप लगाएका थिए। यसैबारेमा सञ्चारकर्मीले प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले भने, 'मान्छे मान्छेका बीचमा के कुराले चित्त बुझेको हुँदैन। कवि मनले कवितात्मक कुरा लयात्मक ढंगले केही कुरा भनिहालेमा ठूलो बनाउनुपर्ने केही पनि छैन। उहाँले के भन्नुभयो होला मैले त सबै सुनेको पनि छैन। अलिकति कवितात्मक ढंगले भन्नु भएको हो। त्यस्तो कुनै ठूलो कुरा हैन।'

पार्टीको तल्ला तहमा चाँडै एकीकरण

प्रधानमन्त्री ओलीले नेकपाको एकतामै विभिन्न तत्वले मिल्नै सक्दैन भनेर शंका गरेको अवस्थामा पार्टी मिलेको उल्लेख गर्दै भने, 'चुनाव अगाडि तालमेलको कुरा गर्दा तालमेल हुनै सक्दैन भन्थे। एकता नभएसम्म असम्भव कुरा भने।'

ओलीले केही दिनमै तल्लो तहको एकीकरण हुने दाबीसमेत गरे। भने, 'एकीकरण भएपछि माथि मिल्यो तल मिलेन भनिरहेका छन्। त्यसको जवाफ व्यवहारमै दिन्छु। दुई चार दिन पर्खिनुस्। तल्ला तहको पनि एकीकरण हुन्छ।'
 

'सरकार पाँच वर्ष ढुक्कले चल्छ' 

प्रधानमन्त्री ओलीले यो सरकार पाँच वर्ष ढुक्कले चल्ने दाबीसमेत गरे। भने, 'लक्ष्य लिएर अगाडि बढ्नुपर्छ। यो सरकारले पाँच वर्षमा चुनाव गराउँछ। यो भन्दा बलियो भएर आउँछ।'

ओलीले हालको राजनीति नीति संगतको नभएको र हावाको पछाडि कुद्ने खालको भएको आरोपसमेत लगाए। 'हावा चल्यो पात हल्ल्यो भनेर त्यस्का पछि कुद्ने राजनीति जनताको लागि गरिने राजनीति हैन। नेपाली जनताले राम्रारी बुझेका छन्। लोकतन्त्र आएको छ,' उनले भने। 

राष्ट्रसंघको महासभामा नेपालका उपलब्धि र नीति तथा योजनाबारे प्रष्ट ढंगले राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले निर्मला प्रकरणबारे छलफल भइरहेको बताउँदै आफ्नो भनाइको बिट मारे।

प्रधानमन्त्रीको सम्बोधन परराष्ट्रमन्त्री ज्ञवालीबाट

संयुक्त राष्ट्रसंघको महासभा र कोस्टारिका भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीको औपचारिक सम्बोधन भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वाचन गरे। असोज ६ गते राष्ट्रसंघको महासभामा भाग लिन मन्त्री ज्ञवाली प्रधानमन्त्रीसहितको टोलीमा सहभागी थिए। २५ बुँदे उक्त सम्बोधन पत्र पढ्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण अत्यन्तै सफल भएको दावी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell