PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महाधिवेशनपछि देउवा पार्टी सभापति नरहने शशाङ्कको घोषणा; भने - 'उमेर भइसक्यो, विश्राम गरेकै जाति'



अनन्तराज न्यौपाने

महाधिवेशनपछि देउवा पार्टी सभापति नरहने शशाङ्कको घोषणा; भने - 'उमेर भइसक्यो, विश्राम गरेकै जाति'

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीका सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनपछि विश्राम लिन सुझाव दिएका छन्।

बिहीबार साँझ विराटनगर आइपुगेका महामन्त्री डाक्टर कोइराला विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थिए।

‘देउवाजीको उमेर पनि भइसक्यो, ३–४ पटक प्रधानमन्त्री भइसक्नुभयो’, कोइरालाले भने, ‘अब सभापतिको चुनाव नलडेर विश्राम गरेकै जाति हुन्छ।’

उनले पार्टीको महाधिवेशनपछि पार्टी सभापतिमा देउवा नरहने बताए।

डाक्टर कोइरालाले सभापति देउवाको कार्यशैली आफूलाई चित्त नबुझेको उल्लेख गरे। ‘हुनत, हामी सबै उहाँकै नेतृत्वमा छौँ र म पनि महामन्त्री छु’, शशाङ्कको कथन थियो, ‘त्यसैले उहाँको नेतृत्वमा भएका सबै घटनाको जिम्मेवारी मैले र नेतृत्वमा हुने सबैले लिनुपर्छ। त्यसैले मैले उहाँको आलोचनाभन्दा पनि उहाँलाई डिफेन्ड नै गरेको छु। तर पनि उहाँको कार्यशैली मलाई चित्त बुझेको छैन।’

उनले पार्टीको आगामी नेतृत्व कसलाई सुम्पने भन्ने बारेमा आफूले देशभरिका कार्यकर्ताको भावना बुझिरहेको जानकारी दिए।

महामन्त्री शशाङ्कले कोइराला परिवारबाट नेतृत्वका लागि एउटै उम्मेदवार हुने दोहोर्‍याए। ‘को उम्मेदवार हुने भन्ने पछिको कुरा हो’, कोइरालाले भने, ‘महाधिवेशन नै दुई वर्षपछि छ। को उम्मेदवार भन्ने अहिले केही टुङ्गो छैन।’

पार्टीको भावी सभापतिको अधिकार र कार्यशैलीलाई चेक एन्ड ब्यालेन्स गर्न सक्ने गरी विधान निर्माण गरिनुपर्ने उनको आग्रह छ।

‘दुई कुरा आएका छन्, कसैले भन्नुहुन्छ– सभापतिलाई स्ट्रोङ बनाऊँ’, कोइरालाले भने, ‘कसैको विचार सामूहिक नेतृत्वबाटै जाऊँ भन्ने छ। दुबै कुराका गुण र अवगुण छन्। सभापतिलाई मात्र सबै अधिकार दियो भने पेलेर लैजाने प्रवृत्ति बढ्छ। त्यसैले सभापति र केन्द्रीय समिति दुबैलाई बलियो बनाऊँ भन्ने मेरो धारणा छ।’

उनले थपे, ‘हामीले राणा हटायौँ, राजा हटायौँ । पार्टीभित्र पनि एक्लै कसैले शासन गर्ने होइन र गर्नु हुँदैन ।’

नेपाल विद्यार्थी सङ्घका बारेमा पनि धेरै विवाद भएकाले महाधिवेशन हुन नसकेको उनले जानकारी दिए । 

‘नेविसङ्घमा ३२ वर्ष लागू गर्ने कि नगर्ने भन्ने कुरा टुङ्गामा पुगेको छैन’, कोइरालाको भनाइ थियो, ‘अरू समस्या पनि मिलाउन बाँकी छ । सबै कुरा मिलेपछि छिट्टै महाधिवेशन हुन्छ । नेपाली काङ्ग्रेसको प्रवेशद्वार भनेकै नेविसङ्घ हो । यसको महाधिवेशन रोकिँदैन ।’

पार्टीको अनुशासन समितिमा वरिष्ठ नेता हुनुपर्छ भन्ने अडान उनले दोहोर्‍याए।

‘हो, हामी बीचमा कटुता र तिक्तता छ, अन्तर्घात छ, एकले अर्कालाई हराएको हो’, उनको धारणा थियो, ‘अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही गरिनुपर्छ । र अनुशासन समितिमा सबैले मानेको सिनियर नेता हुनुपर्छ भन्ने मेरो आग्रह हो।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell