काठमाडौँ : उपत्यकालगायत देशका विभिन्न स्थानमा लागू औषधको कारोबार गर्ने मुख्य दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण व्यूरोको टोलीले मोरङ विराटनगर रानी घर भएका ४५ वर्षीय अरुण थापा र भोजपुरका २४ वर्षीय अम्बर बहादुर राईलाई नियन्त्रणमा लिएको हो।
ब्यूरोले अवैध लागू औषधसहित बुधवार राति नागार्जुन नगरपालिका वडा नम्बर २ बाट थापालाई पक्राउ गरेको व्यूरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। एसएसपी पोखरेलले भने, 'सुराकीका आधारमा अनुसन्धान गर्दै जाँदा नियन्त्रणमा लिन सफल भएका हौँ।'
प्रहरीले पक्राउ गरेका थापा नेपालमा लागू औषध वितरण गर्ने मुख्य कारोबारी भएको खुलेको छ। थापाले भारतबाट ठूलो परिमाणमा लागू औषध ल्याउने र देशभित्रका साना लागू औषध कारोबारीलाई बेच्ने गरेको एसएसपी पोखरेलले बताए। थापा २०६३ असार १ गते ४४ ग्राम खैरो हेरोइन सहित पक्राउ परेका थिए। अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। २०७३ साल माघमा कैद भुक्तान गरी थुनामुक्त भएका थापा पुन: पुरानै धन्दामा फर्किएको प्रहरीले जनाएको छ।