PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सभामुख महराद्वारा मन्त्री बास्काेटाकाे बचाउः संसदीय समितिका सभापतिहरुकाे आलोचना नगर्न आग्रह



पहिलोपोस्ट

सभामुख महराद्वारा मन्त्री बास्काेटाकाे बचाउः संसदीय समितिका सभापतिहरुकाे आलोचना नगर्न आग्रह

काठमाडाैंः प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारहरुलाई प्रवेश निषेध गरेको विषयलाई लिएर सभापति शशी श्रेष्ठको आलोचना भइरहेका बेला सभामुख महराले कामै सुरु नभएको भन्दै आलोचना गर्न नहुने प्रतिक्रिया दिएका हुन्। 

शुक्रबार दशैँ,तिहार र छठ पर्वको अवसर पारेर दाङ–काठमाडौं पत्रकार समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि संचारकर्मीसँगकाे संक्षिप्त कुराकानीमा उनले समितिले गृह र रक्षा मन्त्रालयको संवेदनशील विषयमा पत्रकारहरुलाई निषेध गरेर छलफल गर्न सक्ने प्रावधान रहेको स्पष्ट पारे।

तर, आम रुपमा भने पत्रकारहरुलाई कुनै पनि समितिले निषेध नगरेको र नगर्ने सभामुख महराले बताए। सभामुख महराले संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विकास तथा प्रविधि समितिको निर्णयमाथि हस्तक्षेप गरेको भन्न नमिल्ने प्रतिक्रिया दिए।

उनले सरकारलाई आवश्यक निर्देशन दिने काम संसदीय समितिको स्वायत्त अधिकार भएको पनि स्मरण गराए। बिहीबार बसेको विकास तथा प्रविधि समितिको बैठकको निर्णय प्रक्रियामा मन्त्री बास्कोटाले हस्तक्षेप गरेका थिए। सभामुख महराले सो सम्बन्धमा आफूलाई विस्तृत जानकारी नभएको पनि बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell