PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अचम्मित कनिका : आइजीको फुली फुकालेर के नवराज सिलवाललाई लाइदिने?



पहिलोपोस्ट

अचम्मित कनिका : आइजीको फुली फुकालेर के नवराज सिलवाललाई लाइदिने?

  • किशोर नेपाल -
कनिका प्रातःकालीन समाचारहरुमा दैनिक खबर पढदै थिइ। एउटा खबर निकै रोचक र हास्यास्पद थियो। त्यसमा निर्मलाको बलात्कारी र हत्यारालाई समात्न नसकेको चर्चा थिएन। भर्खरै गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्टुडेण्ट युनियनले ‘जनताको जिउ धनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम’ आइजीपी सर्वेन्द्र खनालको फुली फुकाल्ने माग गरेछ सरकारसँग। धन्यकै रहेछ युनियन पनि। अस्तिमात्रै तस्करी भएको ३३ किलो सुनै पुलिसले पत्ता लगाउन सकेको थिएन। बरु, त्यही आरोपमा आइजीपीको राजीनामा मागेको भए राम्रो हुन्थ्यो।

कनिका सोच्दै थिइ, अहिले आइजीपीले होइन, गृहमन्त्री रामबहादुर थापा बादलले पो राजीनामा दिनुपर्ने हो। तर, यहाँ कसैले राजीनामा दिंदैन। दिनुपर्नेले बाध्य भएर राजीनामा दिएपनि लिनुपर्नेले लिंदैन। कांग्रेस–माओवादीको अघिल्लो प्रतिक्रियावादी सरकारले आइजीपीमा पालो नदिएको नवराज सिलवाल काजीलाई नेकपाले उम्मेदवार बनाएर ललितपुरबाट संसदमा जिताएको थियो। उस्तै परे दुई तिहाइको यो क्रान्तिकारी र शक्तिशाली सरकारले उनैलाई सांसदबाट राजीनामा गराएर फेरि आइजीपी नियुक्त गर्न पनि सक्छ। आखिर सिलवालको मन संसदमा छैन। त्यो मन पुलिस हेडक्वार्टरमा नै अल्मलिइ राखेको छ। त्यसैगरी वामदेव कामरेडलाई पनि उपचुनावबाट संसद छिर्न एउटा क्षेत्र चाहिएकै छ। किन डोल्पा वा रुकुम धाइरहनु, कान्तिपुर छेउकै ललितपुर छँदैछ।

३३ किलो सुनबारे टोलटोलमा हल्ला चलेको छ, यो मध्ये ३० किलो सुन बादलभित्र चन्द्रमा लुके झैं लुकेको छ कतै। बाँकी तीन किलो पुलिसका विभिन्न तहका जवानहरुले आपसमा इनाममा वितरण गरेका थिए। यो त सर्वविदित नै छ, कुनै सुन साहूले तस्करीको बाटो कान्तिपुर भित्र्याउन खोजेको ३३ किलो सुन एयरपोर्टबाटै हराएको थियो। त्यो सुन देशको सबैभन्दा सुरक्षित मानिएको अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएपछि तिलमिलाएका गृहमन्त्रीले व्यर्थमा एउटा सेकुवा पसलेको इज्जत लुटेका थिए। तर, सर्वोच्च अदालतको आदेशले सेकुवा पसलले नयाँ जीवन पाइसक्यो। त्यो घटनामा मुछिएका पुलिसहरु पनि रिहा भै सके। सर्वोच्च अदालतको आदेशले गृहमन्त्रालयको आदेश खारेज गरेको थियो। कनिकाले बुझ्न सकेकी थिइन, ‘किन सधैँ यस्तो हुन्छ?’

कनिका एक्लै हाँसी। देश समृद्धिको बाटोमा उक्लिएको भन्छन्। मानिसहरुको अवस्था भने उस्तै छ। जो बाँच्न चाहन्छ, उसले बाँच्न जानेको छैन। जो मर्न चाहन्छ, उसलाई कानूनले मर्न दिएको छैन। आखिर किन यति गज्याङगुजुङ छ कान्तिपुरको जीवन?

कन्चनपुरकी केटी निर्मलाको बलात्कार र हत्यापछि सरकारले खुला रुपमा चल्दै आएका पोर्न साइटहरुमा प्रतिबन्ध लगायो। तर, सरकारले प्रतिबन्ध लगाएका पोर्न साइटहरुको सक्रियता घटेन। त्यसपछि हल्ला चल्यो, ‘यसपछि सरकारले कान्तिपुरका केटीहरुको लिबास र पहिरन नियन्त्रित गर्दैछ। केटीहरुले उत्तेजक पोशाक लगाएर हिंडेकाले बलात्कारीको चलखेल यति धेरै बढेको हो। अचेलका ठिटीहरु तिघ्रा खुलेका कट्टु, मिनी स्कर्ट र च्यातिएका ग्रन्च पाइन्टहरु लगाएर हिंड्छन्। एकताका सरकारले लामा कपाल पाल्नेलाई समात्दै कपाल काटी दिंदै गर्‍यो।

त्यतिबेला पुलिसले धेरैको जुल्फी तोडिदिएको थियो। यसरी कपाल काट्दै जाँदा केही हुनेखानेका, केही पावरफूल महानुभावहरुका, केही मन्त्रीका र केही अज्ञात पावर सेन्टर चलाएर बसेका शक्तिवानका सन्तानहरुको कपाल पनि काटियो। त्यसपछि मानव अधिकारको कुरा उठ्यो।

प्रजातन्त्रको दुहाइ दिएर मानिसले आफनो च्वाइसको काम गर्न पाउने, लाउन खान पाइने कुरा अघि बढ्यो। 

देशमा भर्खर प्रजातन्त्र आएको थियो। ठिटाहरुले प्रजातन्त्रमा ठिटी जिस्क्याउने अधिकारलाई शायद नैसर्गिक मानेका थिए। ठिटीहरुले शिकायत गरे : गृहमन्त्री योगप्रसाद उपाध्यायसँग। ती सज्जन पुरुषले ठिटीहरुलाई सुझाव दिएका थिए– अबदेखि तिमीहरु पनि खुर्सानीको धूलो बोकेर हिंड्ने गर। कसैले जिस्क्याएको खण्डमा आँखामा छर्की दिनु। 

कनिकाले सम्झिइ, उसले कुन्नि कहिले हो, भारतको भोपाल शहरमा हिन्दूवादीहरुले युवतीहरुको लिवासमा प्रतिबन्ध लगाएको पढेकी थिइ। महिलाहरुको बलात्कारमा धर्मगुरुहरु कसरी फँस्छन्? कनिकाका लागि यो बडो उत्सुकतापूर्ण प्रश्न थियो। हिन्दूका धर्मगुरुका रुपमा चिनिने आशाराम बापूलाई सन्त भनिन्थ्यो। उनका प्रवचन टेलिभिजनबाट लाइभ प्रसारित हुन्थे। तर, उनी ठहरिए ब्यभिचारी। अहिले भारतीय जेलमा छन्। त्यसैगरी, क्रिश्चियनका कतिपय गुरुहरु ननहरुको बलात्कारमा फँसेका छन्। व्यभिचारीहरुको यो जमातमा बौद्ध गुरुहरु पनि कम छैनन्। केही पहिलेमात्र कान्तिपुरमा रहेको कुनै गुम्बामा एकजना रिम्पोचेले आनीसँग व्यभिचार गरेको घटना प्रचारमा आएको थियो। इस्लाम धर्मको खातामा पनि व्यभिचारका घटनाहरु त्यत्तिकै धेरै रहेका छन्।

कनिकालाई विश्वास थियो, राजनीति, धर्म र भ्रष्टाचारका बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको छ। किनभने, यी तीनवटै तत्वहरु सधैँ एक अर्काको बचाउमा लागेका हुन्छन्। चुनावमा जातीय दंगा भड्काएर भोट तान्न धार्मिक तत्वहरु प्रभावकारी हुन्छन्। उनीहरुलाई आवश्यक सहयोग भ्रष्टाचारीहरुले गर्दछन्। यी तीनथरिको नेक्ससले पूरै दुनियाँ हल्लाइ दिन्छ। हामीकहाँ जति पनि व्यभिचारका घटना हुन्छन्, ती सबै दुनियाँ भरिका व्यभिचारका घटनासँग जोडिएका छन्। सत्यको संसारमा मानिस एक्लो हुन्छ। तर, असत्यसँग समर्थकहरुको कुनै कमी हुँदैन।

निर्मला पन्तको बलात्कारपछि हत्या देशमा भएको पहिलो घटना होइन। उनलाई बलात्कार गर्नेहरु शक्तिशाली नभै दिएका भए के प्रधानमन्त्री, गृहमन्त्री र पुलिसका अधिकारी संयुक्त रुपमा बलात्कारीको संरक्षणमा लाग्दथे? के प्रधानमन्त्रीले मृतक निर्मलालाई पन्छाएर घटनामा मुछिएको आशंका गरिएका अरु नै केटीको प्रतिरक्षामा टेलिभिजनको समय खर्च गर्ने थिए? के गृहमन्त्री बादलले आफनो नालायकीको पश्चाताप मादल बजाएर गर्ने थिएनन्? कनिकालाई लाग्यो, यी सबै बलात्कारी साधु आशारामका भक्तजन हुन्। नेपालमा जन्म लिएका यी मानिसहरुको जीवन यस्तै काम गर्दैमा बित्दछ। यिनीहरुको जेहनमा नै अपराध र व्यभिचारको कीरा परेको छ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ। )



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell