काठमाडौं : चिनीको मूल्य वृद्धिका विषयमा छानविन गरिरहेको संसदीय समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरुबीच चर्काचर्की परेको छ।
चिनीको मूल्य वृद्धि भएको भन्दै प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले छानविनका लागि गठन गरेको उप समितिले आज उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ।छलफलका क्रममा समितिका सदस्य एवं नेकपाका सांसद प्रेमबहादुर आलेले सचिवहरुसँग प्रश्न गरिरहेका थिए ।
‘उद्योगीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ६३ रुपैयाँ चिनीको मूल्य निर्धारण गर्यो। अनि तपाइहरुले रातारात ७० पुर्याउने?, सांसद आलेले प्रश्न गरे, ‘जहाँ गुलियो देखियो त्यही टाँसिने? तपाइहरु कै भ्रष्टाचारले गर्दा सरकार बदनामी भइरहेको छ।’
सांसद आलेको प्रश्न पछि सचिवहरु पनि आक्रोशित भएका थिए। आफूहरुले माथिल्लो निकायको निर्देशन मानेको दाबी सचिवहरुको थियो। आफूहरुले कुनै भ्रष्टाचार नगरेको दाबी सचिवहरुले गरिरहेका थिए।
तर, पनि सांसद आले रोकिएनन् र भने,‘प्रधानमन्त्री भ्रष्टाचार रहित देश बनाउने भन्दै हुनुहुन्छ अनि तपाइहरु भ्रष्टाचारमा चुर्लुम्म डुब्ने। यो घोटालाबारे चार दिनभित्र हामीलाई डिटेल प्रतिवेदन दिनुस्।’
सांसद आलेले भने, ‘उहाँहरुको गतिविधि शंकास्पद लागेर अलि आक्रोशित हुनु स्वभाविकै हो। उहाँहरुलाई हामीले सम्पूर्ण जानकारी दिन निर्देशन दिएका छौं।’
उपसमितिका अर्का सदस्य प्रदीप यादवकाअनुसार उखु किसानको सम्पूर्ण बक्यौता रकम १५ दिनभित्र चुक्ता गराउन सरकारलाई निर्देशन दिइएको छ।
‘कति चिनी आयात भयो? कति खपत भयो? हामीसँग कति बाँकी छ। लगायतका विषयमा जवाफ चार दिनभित्र मागेका छौं। उहाँहरुले सम्पूर्ण जवाफ दिएपछि उपसमितिले एक साताभित्र प्रतिवेदन समितिलाई बुझाउने छ।’ यादवले भने।
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनीको मूल्यमा भ्रष्टाचार भएको भन्ने विषयलाई खण्डन गर्दै छानविनको चुनौती दिएका छन्।
मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले आफूमाथि चिनीको मूल्य बढाउन चलखेल गरेको आरोप सार्वजनिक लेखा समितिबाट लागेको भन्दै छानविनका लागि सभामुखलाई आग्रह गरेका छन्।
सभामुखलार्ई पत्राचार गरी यादवले चिनीका विषयमा आफूमाथि लागेको आरोप छानविन गर्न माग गरेका छन्।