PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

अन्जनाले दुई* पेनाल्टी रोकेपछि महिला फुटबलमा भारतमाथि नेपालको शानदार जित

अन्जनाले दुई* पेनाल्टी रोकेपछि महिला फुटबलमा भारतमाथि नेपालको शानदार जित

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : महिला फुटबलमा भारत नेपालमाथि हावी हुँदै आएको छ। सिनियर टोलीले चार पटक साफ च्याम्पियनसिप खेल्दा समेत नेपालले भारतलाई पराजित गर्न सकेको छैन।

यस्तै गत महिना भुटानमा भएको साफ यू-१५ गर्ल्स च्याम्पियनसिपमा पनि नेपाली टोली सेमिफाइनलमा भारतसँगै पराजित भएर बाहिरियो।

गत संस्करणमा पनि नेपाली टोली यू-१५ च्याम्पियनसिपमा भारतसँग पराजित भएको थियो। दक्षिण एसियामा भारत नेपालको लागि नौलो प्रतिद्वन्दी होइन तर नतिजामा भने नेपाल सँधै कमजोर ठहरिन्थ्यो।

तर भुटानमै भइरहेको साफ यू-१८ च्याम्पियनसिपमा भने नेपालले भारतमाथि शानदार जित हासिल गर्‍यो। यो जित नेपाली महिला फुटबलको लागि ऐतिहासिक जित समेत हो।

र त्यो जितको नायक बनिन् गोलरकिपर अन्जना राना मगर। नेपालबाट सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीको समेत गोलपोष्ट सम्हालिसकेकी अन्जनाले पेनाल्टी सुटआउटमा भारतका दुई खेलाडीको पेनाल्टी प्रहार रोकेपपछि नेपालले सेमिफाइनलमा भारतलाई ३-१ अन्तरले पराजित गरेको हो। विपक्षी खेलाडीका लागि पर्खालझैँ बनेर बस्ने अन्जनाले भारतीय खेलाडीको पेनाल्टीमा रोकिनन् आफैँले समेत पेनाल्टी प्रहार गर्दै गोल गरिन्।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसहित कूल १२० मिनेटको खेलमा दुवै टोलीले १-१ गोल गरेपछि नतिजाको छिनोफानो पेनाल्टीसुटआउटबाट भएको हो।

पेनाल्टीसुटआउटमा अन्जनाको गोल र दुई बचाउ:

निर्धारित समयमा गोल गर्ने खेलाडीको नाम अगाडी आउने र चर्चा धेरै हुने गर्छ। पेनाल्टी सुटआउटमा भने गोलकिपरले हिरो बन्ने मौका पाउँछ। र नेपाली गोलकिपर अन्जनाले पनि त्यो मौका चुनाइनन्। उनले भारतको दुई खेलाडीको पेनाल्टी प्रहारलाई गोलपोष्टको रेखा परा गर्न दिइनन्।

सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कप जित्दा सिनियर टिमका गोलकिपर किरण चेम्जोङले सेमिफाइनलमा लाओसका तीन खेलाडीको पेनाल्टी रोक्दै नेपाललाई फाइनल पुर्‍याएका थिए।

किरणको उक्त प्रदर्शन हेरेपछि अन्जनाले समेत किरणले जस्तै खेल्न र भविष्यमा पनि त्यस्तै बन्न मन भएको पहिलोपोस्टलाई बताएकी थिइन्। आज उनले त्यो काम समेत पुरा गरिन् र नेपाललाई उपाधिको नजिक पुर्‍याउने काम गरिन्।

पेनाल्टीसुटआउटमा यसअघि अन्जनाले घरेलु फुटबलमा एकै खेलमा तीन पेनाल्टी रोकेकी थिइन्। दुई वर्षअघि भएको प्रधानसेनापति कपको सेमिफाइनलमा उनले विभागीय टोली आर्मी विरुद्ध सेमिफाइनलमा तीन पेनाल्टी रोक्दै शनसनी मच्चाएकी थिइन्। उनकै प्रदर्शनमा मध्यमाञ्चल फाइनलमा पुगेको थियो।

दुई वर्षअघि घरेलु मैदानमै भएको मलेसिया विरुद्धको मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेकी अन्जनाले २०१६ डिसेम्वरमा भारतमा भएको साफ च्याम्पियनसिपमा श्रीलंका विरुद्ध पहिलो रोजाईमा खेलेकी थिइन्।

*यसअघि दुई हुनुपर्ने ठाउँमा अन्यथा भएकोमा सच्चाइएको

भारत विरुद्ध जित हात पारेपछि गोलकिपर अन्जना सहकर्मीसँग खुशी मनाउँदै, फोटो/भिडियो : बीएफएफ



ट्रेन्डिङ पोस्ट

Ncell