
काठमाडौँ : १३औँ संस्करणकव धर्मश्री विजेता तथा ५०औं एसियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जन १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका छन्।
८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेश एण्ड जिम कालिमाटीका महेश्वरले शुक्रवार भएको प्रि जजिङ राउण्ड पार गर्दै फाइनल राउण्डमा स्थान बनाए।
१५ औं धर्मश्रीको विजेता चयन गर्न शनिवार प्रज्ञा भवनमा फाइल राउण्डको प्रतिस्पर्धा हुनेछ। जसमा कूल सात तौल समूहका उत्कृष्ट बलिबिल्डरहरुबीच भिडन्त हुनेछ।
महेश्वरसँगै उक्त तौल समूहमा मिडवेष्टर्नका विष्णु बि.क., सेप टु ढल्कोका उज्जल बज्राचार्य, फिटनेश स्टुडियोका प्रविन शाही, सेप टु ढल्कोका विशाल कँडेल र आयोजक नेपाल ब्यायाम मन्दिरका जनम लामा फाइनल राउण्डमा छनोट भए।
प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने शहिद तथा ब्यायामका अग्रज धर्मभक्त माथेमाको सम्झानामा २०४२ सालबाट नेपाल ब्यायाम मन्दिरले आयोजना गर्न थालेको यस प्रतियोगितामा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता हो।
प्रतियोगिताको १५औं संस्करणको ५५ केजी तौल समूहमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर, फ्लेकस जिमका सुजन गुरुङ, बुटवल फिटनेशका सुनिल आले, मसल मेनियाका अवाज प्याकुरेल, नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी र सुरेश खत्री फाइनल राउण्डमा छनोट भए।
यस्तै ६० केजी तौल समूहबाट फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ, फिटनेश स्टारका यदु कुमार बिश्वकर्मा, नेपाल ब्यायाम मन्दिरका शैलेन्द्र कुमार शर्मा र सुजन तामाङ्ग, ओम फिटनेशका मिन बहादुर चौधरी तथा नेपाल ब्यायाम मन्दिरका आशिष देवाजु छनौट भएका छन्।
६५ केजी तौल समूहमा मि. हिमालय रामबहादुर दाहाल छनोट भए। नेपाल ब्यायाम मनिदरका दाहाल नेपाल शारीरिक सुगठन तथा फिटनेश संघद्वारा २०६९ सलमा आयोजना गरिएको चौथौं मि. हिमालयका विजेता समेत हुन्। यस्तै सोही तौलमा ओम फिटनेशका फिरदोस दापाली हासमी, फिटनेश फस्र्टका रोजिन बज्राचार्य, बुटवल फिटनेशका विजेन्द्र मान श्रेष्ठ, सेप टु ढल्कोका बिवेक बिष्ट, फिटनेश स्टुडियोका सुपेन डङ्गोल पनि छनोट हुन सफल भए।
७० केजी तौलमा सेप टु ढल्कोका उज्जल राज बज्राचार्य र किरण यादव, अक्सफोर्ड जिमका समिर श्रेष्ठ, फिटनेश स्टुडियोका बद्रि श्रेष्ठ, ब्रोन्ज फिटनेशका किरण श्रेष्ठ तथा नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठले पनि फाईनल राउण्डका लागि स्थान बनाए।
७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल, रिभर फिल्ड फिटनेशका अशोक महर्जन, सेप टु ढल्कोका प्रवेश श्रेष्ठ, नेपाल जिमका नविन राना, गुड लाईफका सुरेश खड्का तथा नेपाल ब्यायाम मन्दिरका प्रवेश के.सी. पनि अन्तिम चरण प्रवेश गर्न सफल भए।
यसैगरि ८० केजी माथिको हेभी वेटमा शंखमुल हेल्थका अमर डङ्गोल, कम्पिल्टि हेल्थक्लबका अनोज मास्के, फिटनेश स्टुडियोका दिपेश श्रेष्ठ, नेपाल ब्यायाम मनिदरका मिलन विक्रम सिजापती र ग्रिस महर्जन तथा मस्कुलिन जिमका सौरभ कुमार गिरी पनि अन्तिम चरण प्रवेश गरे।
शुक्रबार भएको प्रिजजिङ राउण्डबाट आ-आफ्ना प्रतिद्वन्दिलाई पछि पार्दै प्रत्येक समूहबाट ६ खेलाडीहरु अन्तिम चरणका लागि छनोट भएका हुन्। अन्तिम चरणमा प्रत्येक समूहमा प्रथम स्थान हात पार्ने खेलाडीहरुले धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन्।
धर्मश्री विजेताले नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन्। दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन्। यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन्।
२०४२ सालमा १५ हजार पुरस्कार राशीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५औं संस्करणसम्म आईपुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ।