PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

खोइ झ्याउँकिरीको झ्याउँझ्याउँ, भ्यागुताको ट्वारट्वार?



पहिलोपोस्ट

खोइ झ्याउँकिरीको झ्याउँझ्याउँ, भ्यागुताको ट्वारट्वार?

  • शिशिर वैद्य -
आँगनमा र्‍याल चुहाउँदै घस्रिरहेको चिप्ले किरा, गमलामा टाँसिएको शंखेकिरा,  भ्यागुताको एकनासे ट्वारट्वार, झ्याउँकिरीको झ्याउँझ्याउँ, पिलपिल बत्ती बाल्दै अँध्यारो रातमा डुल्दैगरेकी जुनकिरी, चिरचिरबिर गर्दै गरेका भंगेरा, कुखुरी काँ… गर्दै बिहानीको संकेत गर्न बासेको भाले, रूखमा झुण्डिरहेका चमेरा। जाडो र गर्मी छल्न आउने पाहुना चराहरू। कति भयो प्रकृतिका गतिविधि अनुभव गर्न नपाएको? शहरमा बस्नेका लागि यी सब सुन्दर स्मृतिमात्र रहे। नयाँका लागि कुनै अलौकिक कथा। यस्ता सुन्दर स्मृतिले दुई कुराको संकेत गर्दछ – एक, शहरमा खेतीयोग्य र खुला जमिन घटे। दुई,  प्राकृतिक वातावरणमा आएको विनाशले चराचुरूंगी र किराफट्यांग्राहरूको बासस्थान मासियो। ती लोप भए। 

मानिसको बसाइसराई भन्दा कैयौं गुना बढी दरमा भइरहेको जीवजन्तुको लोप प्राकृतिक वातावरणमा आएको असन्तुलन र खतराको सूचक हो। शहरीया धुन र नयाँ शहरको रहरमा हामीले रैथाने भ्यागुता, जुनकिरी, झ्याउँकिरी, चिप्लेकिरा जस्ता जलचर, थलचरलाई विस्थापन गर्दैछौं। 
फेवाताल अहिले व्यापक चर्चामा छ। शहर विस्तारले प्राकृतिक वातावरणमाथि गरेको अतिक्रमणको बलियो उदाहरण हो यो ताल। पचास वर्षअघि दश वर्ग किलोमिटरमा फैलिएको ताल अहिले आधाभन्दा कम, अर्थात् चार वर्ग किलोमिटरमात्रैमा समेटिएको छ। फेवाताल प्रतिनिधि उदाहरणमात्रै हो। देशैभरि भइरहेको शहरीकरण र शहर बिस्तारलाई हेर्ने हो भने जताततै यस्तै देखिन्छ। पोखरा शहरको विस्तारले त्यहाँका प्राकृतिक गुफा, खोलानाला संकटमा पर्न थालेको छ। यहाँ विचरण गर्ने विभिन्न प्रजातिका चरा हराउन थालेका छन्। काठमाडौं उपत्यकामा भएको शहर विस्तारले बाग्मतीलाई मृत नदिमा रूपान्तरित गरिसक्यो। ढल र फोहरले प्रदुषित बाग्मतीमा माछा लगायतका जलचर पाइन छाडेको छ। पोखरा र काठमाडौंमात्र होइन, शहरीकरणको चपेटामा प्युठानका खेतीयोग्य फाँट झिम्रुक, बैतडीको पाटन, पाँचथरको फिदिम, अछामको साँफेबगर, सुर्खेत, दाङ, आदि थुप्रै ठाउँ परेको छ। के शहर बसाउनुको अर्थ खुला सार्वजनिक स्थान, कृषियोग्य जमिन, वन–जंगल, पाटी–पौवा, खोला किनार, पोखरी प्रदुषित र अतिक्रमण गर्नु हो? नयाँ शहर निर्माण र शहर विस्तारको नाममा भइरहेका यस्ता क्रियाकलापले शहर त पक्कै बढ्दै छ तर प्राकृतिक वातावरण र संस्कृति बिलाउँदैछ। सभ्यता नासिँदो छ। हरेक संस्कृति र सभ्यता प्रकृतिसित जोडिएको हुन्छ। 

संस्कृति र सभ्यतामात्र होइन नयाँ शहर बसाउने र शहरीया बन्ने होडमा वातावरण प्रदुषणको मात्रा यस्तरी बढेको छ कि, जति ठूलो शहर त्यति धेरै प्रदुषित वातावरण पर्याय बनेको छ। मृत्युको अदृष्य कारक बनेको वातावरण प्रदुषणले ठूला शहरमा हुर्किएका पुस्ताको फोक्सो धुम्रपान नगरे पनि संक्रमित हुने संभावना अत्यधिक बढेको छ। समाजशास्त्री किङ्गस्लेले मानव बसोबासका लागि ओभानो जलवायु, स्वस्थकर हावापानी, पर्याप्त सूर्यको किरण, स्वच्छ प्राकृतिक वनस्पति, ज्यादा वर्षा नहुने, खाद्यान्न ह्रास नहुने, राम्रो र बाक्लो माटो भएको ठाउँ उपयुक्त हुने र त्यस्तो वातावरण प्रायजसो पानीको छालले जमाएको माटो भएको उपत्यकामा हुने बताएका छन्। काठमाडौंमा बसोबास र आवादी विस्तार गर्न यिनै पूर्वाधारले आकर्षित गरेको किङ्गस्लेको ठम्याई रहेको छ (काठमाडौं उपत्यकाका बस्तीहरू; डा. गोपाल धौबन्जार)। 

प्राकृतिक दृष्टिकोणबाट निकै सुरक्षित मानिएको काठमाडौं उपत्यका के अझै सुरक्षित छ त? हाम्रा कुनै पनि शहरमा शहरको स्वभाव छैन। विराटनगर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरसँग शहरका तत्वहरू छन्- तर, त्यसको संयोजन गरिएको छैन। संयोजनको मामिलामा काठमाडौं शहर पनि निकै पछि छ। काठमाडौं शहरलाई संयोजन र व्यवस्थित गर्ने अठोटका साथ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो कार्यकालमा सडक विस्तार र एक्सप्रेस सडक निर्माण योजनालाई प्राथमिकता दिएका थिए। सडक विस्तारले शहरी क्षेत्रका सडक सुन्दर देखिए। सवारी आवागमन सहज भए। तर, जति काम भए त्यसले पार्नसक्ने नकारात्मक र दीर्घकालीन असरबारे अध्ययन भएन। त्यसले सम्पदा क्षेत्रमा पर्न थालेको असर देखिइसकेको छ। डाक्टर भट्टराईलाई विकास वा विनाश? शीर्षकको पत्रमा अमेरिकी पत्रकार एवं नेपाली समाज र इतिहासमा विद्यावारिधि गरेकी मेरी डेशेन लेख्छिन्–  ‘एकातिर हामी यस देशका लोपोन्मुख प्रजातिहरुका अति महत्वपूर्ण बासस्थलहरुका साथै पर्यटन क्षेत्रका महत्वपूर्ण गन्तव्यबारे कुरा गरिरहेका छौं, अर्कोतिर, तीब्र र सघन विकासको पक्षमा लाग्दा यी सबै कुराको उपेक्षा गरिएको छ। यो त्यस्तो विकासको खास्साको उदाहरण हो, जुन विकास वास्तवमा अनेक दृष्टिले विनास हो।’

डेशेनले लेखे जस्तै आफ्नो बासस्थान र पर्यावरण विनाश हुने देखेर काठमाडौं उपत्यकाका छेउछाउका बस्तीहरू आन्दोलित छन्। सरकारले उनीहरुमाथि नै दमन गरेको छ। राज्यशक्तिको दमन गर्ने चरित्रले विकास कसका लागि भन्ने प्रश्न तड्कारो बनेको छ। शहरीकरण र विकासका नाममा स्थानीय जनताको थातथलोमाथि अतिक्रमण यहाँको मात्रै समस्या हैन। हालै मुम्बई–अहमदावाद बुलेट ट्रेन र मुम्बई–भदोदरा एक्सप्रेस सडक निर्माणको विरोधमा मुम्बईका साठीभन्दा बढी गाउँका पचासौं हजार किसान र गाउँलेहरूले प्रदर्शन गरे। रातो टोपी, रातो साडी र रातो झण्डा बोकेका डेढ किलोमिटर लामो मानव सागरको एउटै स्वर थियो –  हाम्रा खेत र बस्ती उजाड्ने विकास हामीलाई चाहिँदैन। 

काठमाडौंमा भएको विरोध होस् वा मुम्बईमा, दुवैका उस्तै माग छन् –  शहर विस्तार र विकासका नाममा आदिवासीलाई विस्थापित गर्न पाइँदैन, उनीहरूका कृषियोग्य जमिन मास्न पाइँदैन, प्राकृतिक वातावरण, पर्यावरण र सम्पदाको विनाश गर्न पाइँदैन। संसारभरि नै जसरी शहरी क्षेत्रको विस्तार हुँदै गइरहेको छ, कृषियोग्य भूमि घट्दै गएको छ। जनघनत्व बढ्दै जाँदा पानीका मुहान सुक्न थालेको छ। जसको असर मानिसलाई मात्र होइन प्रकृति र यसमा आश्रृत सबै प्राणीमा पर्न थालेको छ। 

सन् २०११ सम्म चौध प्रतिशत मानिस शहरीया थिए, नेपालमा। सन् २०१४ मा महानगर, उपमहानगर र नगरपालिकाको संख्या बढेसँगै शहरीया जनसंख्या प्रतिशत एकाएक ४१ प्रतिशत पुग्यो। नगरको मापदण्डमा नपरेका थुप्रै शहरहरु यो तथ्यांकमा छुटेका छन्। यो प्रक्रियामा थुप्रै गाउँहरू एवं ग्रामिण शहरहरू, वडाहरू नगरमा गाभिए। तर शहरी योजनाकारहरूले के बिर्सिए भने गाउँहरू गाभिँदैमा शहर बन्दैन। विकट र न्युनतम सुविधा पनि नपुगेका गाउँहरूलाई गाभेर गरिएको नगर उद्घोष आफैमा हास्यास्पद छ। शहरको आफ्नै चरित्र हुन्छ। स्वभाव हुन्छ, गति हुन्छ।
आवश्यकता हुन्छ। शहर हुनुका आफ्नै आधारहरू हुन्छन्। त्यसैले नयाँ नगरपालिका थपिएसँगै चुनौती बढेका छन्। नयाँ प्रविधि प्रयोग गरी बनेका ठुलाठुला घरहरू, व्यापारिक मल, चौडा सडक, चिल्ला गाडी, व्यवस्थित र व्यावसायिक बजारले शहर त पक्कै बन्नेछ। तर साथसाथै खेतीयोग्य जमिन मासिने छ। वनजंगल फाँडिने छ। खोलानाला, पाटीपौवा, चौतारो, गौचरन आदि नासिने र प्रदुषितहुनेछ। सम्पदा र संस्कृति विलुप्त हुने खतरा बढ्नेछ। वनजंगल घट्दा, खोलानाला प्रदुषित हुँदा, ग्रामिण क्षेत्रमा पाइने जंगली जनावर, किरा फट्याङ्ग्रा एवं चराचुरूङ्गीको बासस्थान लोप हुनेछ। यसको सिधा असर पहाड र हिमालमा पर्ने पक्का छ। यसले एउटा गम्भीर प्रश्न उब्जाएको छ। के शहर निर्माण र विकास तात्कालीन आवश्यकतामात्रै हुन्? भविष्यमा यसबाट हुन सक्ने असरहरू बारे वर्तमान पुस्ताले जिम्मेवार भएर प्रस्तुत हुने कि जे होला होस भनेर अघि बढ्ने?
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell