
काठमाडाैँः प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन्। शनिबार आफ्नै सरकार निवास बालुवाटारमा पूर्वाञ्चल विश्वविद्यालयको २९ औं सभा बैठकमा प्रधानमन्त्री अाेली विकासको कामलाई तीव्रता दिन सक्ने दक्ष जनशक्ति निर्माणमा जुट्न सबै विश्वविद्यालयलाई आह्वान समेत गरे।
'अब कक्षा कोठाको पाढइले मात्र पुग्दैन। विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ,' उनले भने। प्रधानमन्त्री ओलीले शिक्षाले आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताए।
'शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ' उनले भने, 'यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ ।” यस वर्षदेखि सुरु गरिएको निरक्षरता विरुद्धको महाअभियानले आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीको दाबी छ।
'आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्,'उनले भने। प्रधानमन्त्री ओलीले मुलुकको आवश्यक्ता अनुसार जनशक्ति निर्माण हुने गरी शैक्षिक क्षेत्रलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले प्राकृतिक स्रोत, साधनले सम्पन्न मुलुकलाई समृद्ध बनाउन सोही अनुसारको शिक्षा नीति आवश्यक रहेको स्मरण गराए। साधारणसभाले आव २०७५/२०७६का लागि प्रस्तावित आयव्यय विवरण,आव २०७१/२०७२ र आव २०७२/२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ।
यसैगरी आव २०७३/२०७४ र २०७४/२०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ। साधारणसभामा प्रस्तुत गरिएको अन्य प्रस्तावहरु अर्को बैठकमा छलफल गर्ने गरी आजको साधारणसभा स्थगित गरिएको छ।