PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

भ्रष्टाचारको मुद्दा लागेर निलम्बित सांसद पप्पु मुख्यमन्त्रीसँग एउटै मञ्चमा



राधेश्याम पटेल

भ्रष्टाचारको मुद्दा लागेर निलम्बित सांसद पप्पु मुख्यमन्त्रीसँग एउटै मञ्चमा

वीरगंज : भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बित सांसद हरिनारायणप्रसाद रौनियार (पप्पु)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत सहभागी एक कार्यक्रममा शनिबार देखा परेका छन्।

पोखरीया नगरपालिकाको दोस्रो नगरसभामा विशिष्ट अतिथिको रुपमा उनी कार्यक्रममा पुग्दा सबै जना अचम्ममा परेका थिए। 

कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै  उनले आफूमाथि चौतर्फी प्रहार भएको बताए। ‘जुन दिनदेखि चुनाव जितेको छु,ममाथि प्रहार भइरहेको छ,आफ्नै दलका केही नेता र पत्रकार मिलेर मलाई बदनाम गर्ने काम गरेका छन्,’ उनले भने, ‘मैले पनि उनीहरुलाई चिनिसकेको छु,छोडदिनँ। कानुनी प्रकृयाबाटै सत्य कुरा के बाहिर ल्याउर देखाउँछु।’

उनले आफ्ना सबै काम कानुनी प्रकृयामै गरेको दावी गर्दै पूर्वाग्रही हिसाबले केही निर्माण कम्पनी र नेताको कारण आफूलाई घेराबन्दी पार्दै भ्रष्टाचारको मुद्दा दर्ता गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाए। चुनावभन्दा ६ महिनाअघि  संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरी पर्सा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्य निर्वाचन उनले जितेका थिए। चुनाव जितेपछि उनले पप्पु कन्सट्रक्सन प्रालिको सञ्चालक पदबाट राजीनामा दिँदै छोरा सुमित रौनियारलाई अध्यक्ष बनाएका थिए।

विभिन्न निर्माण कार्य तथा बर्दियाका जब्दीघाट पुलमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पप्पु कन्सट्रक्शनका तत्कालीन अध्यक्ष हालका सांसद हरिनारायण रौनियार, उनका छोरा सुमित तथा १० जना कर्मचारी गरी १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। सांसद रौनियार र छोराविरुद्ध  करिब २० करोडको बिगोसहित अभियोग पत्र दायर गरिएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell