
प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै न्यूकासल युनाइटेडलाई पराजित गरेको छ। पहिलो हाफमै २-० ले पछि परेको युनाइटेडले अन्तिम २० मिनेटमा तीन गोल फर्काउँदै खेल जितेको हो।
एन्टोनी मार्सियल र वैकल्पिक खेलाडीहरु हुँवा माटा र एलेक्स सान्चेजले गोल गरेपछि युनाइटेडले पुनरागमन गर्दै न्यूकासललाई ३-२ ले हरायो।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुँवा मााले ७०औँ मिनेट र मार्सियलले ७६औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसपछि ९०औँ मिनेटमा सान्चेजले गोल गर्दै युनाइटेडले ३ अंक जोडेको हो। यस सिजन खराब प्रदर्शन गरिरहेको युनाइटेडका व्यवस्थापक जोसे माउरिन्होलाई यो जितले केही राहत मिलेको छ।
सिजनको चौथो जितपछि ८ खेलबाट १३ अंक जोडेको युनाइटेड आठौँ स्थानमा उक्लेको छ।
प्रिमियर लिगकै अर्को खेलमा लण्डन क्लब टोटनहमले कार्डिफ सिटीलाई १-० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ। टोटनहमका लागि एरिक डायरले आठौँ मिनेटमा गरेको गोल नै तीन अंक दिलाउन निर्णायक बन्यो।
जोए रोल्सले दोस्रो हाफमा रातो कार्ड पाएपछि कार्डिफ दश खेलाडीमा झरेपनि टोटनहमले गोल थप्न सकेन। ८ खेलबाट १८ अंक जोडेको टोटनहम म्यानचेष्टर सिटी र लिभरपुल भन्दा एक अंकले मात्र पछि छ। दुवै क्लबले एक-एक खेल कम खेलेका छन्।
यसैगरी वाटफोर्ड सिटीलाई ४-० ले पराजित गर्दै बर्नमाउथ पाँचौ तथा क्रिस्टल प्यालेसलाई १-ण ले पराजित गर्दै वल्भरह्याम्पटन सातौँ स्थानमा उक्लेको छ।