
काठमाडौँ : मलेसियामा जारी आइसीसी टी-२० वर्ल्डकप एसिया रिजनल क्वालिफायर ग्रुप बी मा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ।
क्वालिफायरमा दुवै टोली अपराजित रहेका छन्। ३ खेल खेलेको थाइल्याण्ड दुई जित र एक बराबरीपछि ५ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा छ। लगातार दुई खेल जितेको नेपाल सिंगापुर समान ४ अंक जोडेपनि रनरेटमा पछि रहदै तेस्रोमा छ।
थाइल्याण्डको लागि यो चौथो र नेपालको तेस्रो खेल हो। यसअघि नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरिसकेको छ।
नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो नेपाली समयअनुसार १२:१५ बजे क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुनेछ। नेपालले यसअघिका दुवै खेल सोही मैदानमा खेलेको थियो।
नेपालले मंगलबार भुटानसँग चौथो खेल खेल्नेछ भने बुधवार चीनसँग पाँचौ र शुक्रवार सिंगापुरसँग अन्तिम खेल खेल्नेछ।
एसियाका पूर्वी क्षेत्रका ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको समूह बी बाट शीर्ष तीन स्थानमा रहने टोली एसियाकै दोस्रो चरणको क्वालिफायरमा प्रवेश गर्नेछ।
जहाँ एसियाका ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन्। ग्लोबल क्वालिफायरमा कूल १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट ६ टोली सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्डकपमा छनोट हुनेछन्।
आइसीसीको शीर्ष १० वरीयतामा रहने १० राष्ट्र भने स्वत छनोट हुनेछन्।